काठमाडौं । २०७७ सालको कक्षा १२ को वार्षिक परीक्षा भौतिक उपस्थितिमा हुने भएको छ । सरकारले परीक्षाको विषयमा निर्णय गरी नसकेको भएता पनि बोर्डले भने १०० पूर्णाङ्कको लिखित परीक्षा गर्ने गरी तयारी थालेको छ ।
माध्यमिक तहको अन्तिम परीक्षा भएकाले ढिला भएपनि लिखित रुपमै लिनुपर्छ भन्ने विज्ञहरुको सुझाब रहेकाले सोही अनुसारको तयारी भइरहेको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जनाए।
पौडेलका अनुसार बोर्डले अहिले १२ कक्षाको वार्षिक परीक्षा १०० पूर्णाङ्कको लिखित लिनेगरी तयारी भइरहेको छ । पछिल्लो समय कोरोना महामारीको संक्रमण न्यून बन्दै गएकाले पनि लिखित रुपमै परीक्षा सञ्चालन गर्ने तयारीमा बोर्ड रहेको छ ।
स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गरेर भएपनि परीक्षा लिखित रुपमै लिने तयारी भइरहेको पौडेलले जानकारी दिए ।
गत वर्ष बोर्डले कक्षा १२ को वार्षिक परीक्षा ४० पूर्णाङ्कको लिखित थप ४० पूर्णाङ्क कक्षा ११ को वार्षिक परीक्षा र २० प्रतिशत पूर्णाङ्क कक्षा १२ को आन्तरिक मूल्यांकनबाट वार्षिक परीक्षा गरिएको थियो ।
यसपटक पनि कोरोना महामारीका कारण बोर्डले तोकेको समयमै परीक्षा हुन सकेन । बोर्डले यसअघि जेठ २६ गतबाट कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको थियो । तर उक्त समयमा कोरोना महामारीले तिव्र गति लिएपछि बोर्डले परीक्षा स्थगित गरेको थियो ।
बोर्डले गत वैशाख २७ गते परीक्षा स्थगित गरेपछि कक्षा १२ र एसईई परीक्षाको मोडालिटी तयार गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशकको अध्यक्षतामा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले विभिन्न विधिहरुसहित रिवेशको आंकलन गरेर परीक्षा सञ्चालन गर्न सुझाव दिएको थियो ।
कक्षा १२ को वार्षिक परीक्षा ढिला गर्दा विश्वविद्यालय तहको भर्ना प्रक्रियामा समेत असर पर्ने भएकाले जतिसक्दो चाँडो परीक्षा सक्न बोर्डलाई दबाव पनि रहेको छ ।
अघिल्लो वर्ष १२ कक्षाको परीक्षा ढिला हुँदा विश्वविद्यालयको भर्ना प्रक्रियामा असर पुग्नुका साथै वार्षिक क्यालेन्डरमा समेत असर पुगेको थियो ।


















