एमालेको दशौं महाधिवेशन आयोजक कमिटी औपचारिक रुपमा भंग

153

काठमाडौं । सर्वोच्च अदालतले अवैद्य भनेको नेकपा (एमाले)को दशौं महाधिवेशन आयोजक कमिटी औपचारिक रुपमा भंग भएको छ । बुधबार बालुवाटारमा बसेको अन्तिम बैठकसँगै आयोजक कमिटी केन्द्रीय कमिटीमा रुपान्तरण भएको हो ।

एमालेका प्रवक्ता प्रदिप ज्ञवालीका अनुसार अब एमालेका सबै कामकारबाही केन्द्रीय कमिटीको मातहतबाट हुनेछ । उनका अनुसार तत्कालिन नेकपा गठनका समयमा केन्द्रीय कमिटीमा रहेका सदस्यहरु नै एमालेको केन्द्रीय कमिटीमा रहनेछन् ।

‘अदालतको फैसला, पार्टी एकताका लागि पार्टी अध्यक्षले गरेको आव्हानअनुसार दशौं महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गराउने गरि निर्णय गरेका छौं, तत्कालिन नेकपा एकता गर्दाका केन्द्रीय कमिटीका सदस्य नै एमालेको केन्द्रीय कमिटीमा रहने छन्’, बैठक पछि एमाले प्रवक्ता प्रदिप ज्ञवालीले भनेका छन् ।

बुधबार बसेको महाधिवेशन आयोजक कमिटीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित उनी नेतृत्वको समूहका ४ नेतालाई स्थायी समितिमा मनोनित गर्ने पनि निर्णय गरेको छ । प्रवक्ता ज्ञवालीले बताएअनुसार आयोजक कमिटीले भंग हुनुपूर्व एमाले तर्फबाट ४ र बादल समूहका ४ नेतालाई स्थायी समितिमा मनोनित गरेका हो ।

ज्ञवालीले बताएअनुसार एमाले तर्फबाट रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तसहित र बादल नेतृत्वको समूहबाट बादलसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापालाई स्थायी समितिमा मनोनित गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here