चार वर्ष बित्दा पनि भाडाकै घरमा छन् स्थानीय सरकार

87

काठमाडाैं । लमजुङका अधिकांश स्थानीय तह भाडाकै घरबाट सञ्चालन भइरहेका छन् । स्थानीय सरकार गठन भएको चार वर्ष बित्दासमेत गाउँका सिंहदरबार भनिने यहाँका अधिकांश स्थानीय तहको आफ्नै भवन नहुँदा बर्सेनि लाखौं रकम भाडामै खर्च हुने गर्छ ।

चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा अधिकांश स्थानीय तहले भाडाकै घरबाट सेवा प्रवाह गरिरहेका छन् । आफ्नै प्रशासकीय भवन नहुँदा बेँसीशहर नगरपालिकाले वडा नं। ८ स्थित एक स्थानीयवासीको घर भाडामा लिएर दुई वर्षभन्दा बढी समयसम्म कार्यसम्पादन गर्दै आएका थियो । पछि सोही वडाको फूलबारी चोकमा नापी कार्यालयको भवन निर्माण भएसँगै सोही भवनबाट नगरपालिकाले कार्यसम्पादन गर्दै आएको छ ।

उक्त भवनमा नगरपालिकाका लागि आवश्यक पर्ने कोठाहरू नहुँदा कार्यसम्पादनमा समस्या हुने गरेको नगरप्रमुख गुमानसिंह अर्यालले बताए । उनले भने, ‘अहिले पनि कृषि र भेटेरिनरी र स्वास्थ्य शाखाको औषधि स्टोरका लागि घर भाडामा लिएका छौं ।’  यसका लागि मासिक २५ हजार रूपैयाँ भाडा तिर्ने गरेको उनको भनाइ छ ।

जग्गा नहुँदा भवन बनाउन नसकिएको बताउँदै नगरप्रमुख अर्यालले जग्गाको टुंगो लागेपछि मात्र भवन निर्माणको योजना बन्ने जानकारी दिए ।

जिल्लाका अधिकांश स्थानीय तहको आफ्नो प्रशासकीय भवन नहुँदा सेवा प्रवाहमा समेत समस्या हुँदै आएको स्थानीय तहका प्रमुखहरूले बताउँदै आएका छन् ।

जिल्लाका कतिपय स्थानीय तह साविकका गाविस रहेको भवनबाट सेवा प्रवाह गरिरहेका छन् भने कतिले घर भाडामा लिएर कार्यसम्पादन गर्दै आएका छन् । आफ्नै भवन नबन्दा भाडाका साँघुरा घरबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यता यहाँका स्थानीय तहको छ।

सुन्दरबजार नगरपालिकाले पनि आफ्नो प्रशासकीय भवन नहुँदा कार्यसम्पादनमा समस्या हुने गरेको जनाएको छ । पटक-पटक विवादमा पर्दै आएकाले अझै भवन निर्माण हुन नसक्दा नगरपालिकाको कार्यालय नयाँ भवनमा सर्न सकेको छैन ।

विवादैविवादका बीच पार गर्दै तीनतले भवन निर्माणको अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ । हाल प्रयोग गर्दै आएको भवन साँघुरो र पर्याप्त काम गर्ने कोठा नहुँदा सेवा प्रवाहमा समेत समस्या भइरहेको नगरप्रमुख जनकराज मिश्रले बताए । ‘नगरपालिकाको आफ्नै प्रशासकीय भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अब छिट्टै नै सो भवनबाट कार्यसम्पादन गर्ने तयारीमा हामी छौँ ।’

त्यस्तै, राइनास नगरपालिकाले पनि आफ्नै प्रशासकीय भवन नहुँदा हाल कृषि कार्यालयको भवनबाट कार्यसम्पादन गर्दै आएको छ । नगरपालिकाले ७ रोपनीमध्ये दुई रोपनी क्षेत्रफलमा प्रशासकीय भवनको निर्माण कार्य अगाडि बढाएको नगरप्रमुख सिंहबहादुर थापाले बताए ।

भाडामा लिएका घरमा निर्वाचित जनप्रतिनिधि नै नअटाउने साँघुरा कोठाबाट कार्यालय सञ्चालन गर्नुपर्दा जनप्रतिनिधि, कर्मचारी र सेवाग्राहीले विभिन्न समस्या झेल्दै आएका छन् । आगामी भदौ महिनासम्म कार्यालय भवनको निर्माण सम्पन्न गर्ने गरी कार्य भइरहेको छ । त्यसलगत्तै नयाँ भवनबाट कार्यसम्पादन हुने नगरप्रमुख थापाको भनाइ छ ।

यसैगरी कास्की जिल्लासँग सिमाना जोडिएको मध्यनेपाल नगरपालिकाको पनि आफ्नै कार्यालय भवन छैन । नगरपालिका कार्यालय भाडाका घरबाट सञ्चालन गरिएको छ । पारिवारिक प्रयोजनका लागि बनेका घरको साँघुरा कोठाबाट कार्यालय सञ्चालन गर्दा स्थानीय सरकारलाई दैनिक सेवाप्रवाह गर्नै हम्मे–हम्मे परेको छ ।

अधिकार सम्पन्न स्थानीय सरकार गठन भएको चार वर्ष बित्न लाग्दा पनि कार्यालय सञ्चालनका लागि उपयुक्त भवनसमेत नहुँदा सेवाप्रवाह व्यवस्थित हुन सकेको छैन । आफ्नै प्रशासकीय भवन नहुँदा घर भाडामा लिएर कार्यालय सञ्चालन हुँदै आएको छ ।

भाडाका घरबाट नगरपालिकाको सेवा प्रवाह गर्नुपर्दा मासिक ५० हजारभन्दा बढी रकम खर्च भइरहेको नगरप्रमुख रमेशकुमार पाण्डेले बताए ।

नगरपालिकाले डेढ रोपनीमा तीनतले भवन गत माघ महिनाबाट निर्माण गर्दै आएको छ । संघीय सरकारको चार करोड २९ लाख रूपैयाँ लागतमा भवन निर्माण भइरहेको नगरपालिकाले जनाएको छ ।

त्यस्तै दोर्दी गाउँपालिकाले साविकको कृषि विकास कार्यालयको भवनबाट सेवा प्रवाह गर्दै आएको छ । अन्य तीन गाउँपालिकाले यसअघि साविकका गाविस भवनलाई उपयोग गर्दै आएका छन् ।

पालिका केन्द्र परेका साविक गाविस भवन सानो र साँघुरो हुँदा सेवा प्रवाहमा समस्या भएको गाउँपालिकाले जनाएका छन् । हाल रहेको प्रशासकीय भवन साना साना कोठाहरू रहेकाले विभिन्न समस्याहरू झेलिरहे पनि सेवा प्रवाह गर्दै आएको गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले बताए ।

क्होलासोंथार गाउँपालिकाले साविक मालिङ गाविसको भवनमा केही कोठा थप गरी कार्य सञ्चालन गर्दै आएको छ । प्रशासनिक कामका लागि सो बाहेक केही कोठा भाडामा समेत लिएर कार्यसम्पादन गर्दै आएको पालिकाले जनाएको छ । यस आर्थिक वर्षबाट बल्ल भवन निर्माण भइरहेको छ ।

यसैगरी, जिल्लाकै दुर्गम मानिएको दूधपोखरी गाउँपालिकाले पनि साविक गाविस भवनबाट कार्यसम्पादन गर्दै आएको छ । साविक गौडा गाविसको भवनमा कार्यकक्ष अभाव भएपछि शिक्षा, प्राविधिक, कृषि, स्वरोजगार लगायतका अधिकांश शाखाहरु भाडामा लिएर जेनतेन सञ्चालन हुँदै आएको गाउँपालिका अध्यक्ष छुपिमाया गुरुङले बताइन्।

गाउँपालिकाले कार्यालय भाडाबापत् मासिक ५६ हजार तिर्ने गरेको छ।

मर्स्याङ्दी गाउँपालिकाको समेत आफ्नै भवन छैन । साविकको भुलभुले गाविसको भवनबाट सेवाप्रवाह हुँदै आएको छ । तर सो भवनमा पर्याप्त कोठाहरू नभएकाले समस्या उत्पन्न हुँदै आएता पनि हालसम्म  आफ्नै प्रशासकीय भवन बनाउने तयारी नभएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।  उनले भने, ‘हामीले हाम्रो प्रशासकीय भवन बनाउनुभन्दा पनि वडाहरूको भवन निर्माण गर्ने कार्यलाई तीव्रतासाथ अघि बढाएका छौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here