काठमाडाैं । अविरल बर्षा कारण सुनसरीका अधिकांश क्षेत्र जलमग्न बनेको छ। पानीको निकास अभाव र खोलामा बढेको पानीका कारण टोल, वस्तीहरु डुबानमा देखिएका छन्।
इटहरी क्षेत्रमा टेङ्ग्रा र बूढी खोलामा आएको बाढीले किनार र आसपासका वडाहरु डुबानमा परेका छन्। त्यसैगरी धरानमा सेउती र अधेरी खोला आसपासको क्षेत्रमा डुबानको समस्या देखिएको सुनसरी प्रहरीले जनाएको छ।
सुनसरी, बूढी, गडनलगायतका खोलामा जलस्तर बढ्दा आसपास किनारका वस्ती जोखिममा परेका छन्। सुनसरी प्रहरीले दिएको जानकारीअनुसार अहिलेसम्म डुबान तथा बाढी पसेका २०० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
यता सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च मापन भएको छ। कोशी नदीमा अहिले दुई लाख क्यूसेकभन्दा बढी पानी बगिरहेको छ। सुनसरी प्रशासनले जनाएअनुसार यतिबेला सप्तकोशी नदीमा पानीको बहाव दुई लाख २१ हजार ४७५ क्यूसेक प्रतिसेकेण्ड पुगेको छ। नदीको जलस्तर बढेसँगै कोशी ब्यारेजका २९ वटा ढोका खोलिएका छन्।
नदीमा बहाव बढेसँगै ब्यारेज पुलमा रातो बत्तीसमेत बालिएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बहाव बढे पनि खतरा भने नरहेको बताएका छन्। उनले तटीय क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउन भनिएको बताए। सम्भावित डुबान र बाढीलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई सतर्क रहन निर्देशन दिइएको उनले जानकारी दिए।


















