सिद्धार्थ गौतम “शाक्यमुनि बुद्ध” खस जातिका होइनन्

197

–चन्द्रप्रकाश बानियाँ

“इति खो अम्बट्ठ, यदापि खत्तियो परमनिहीनतं यतो होति तदापि खत्तिया एव सेट्ठा, खत्तिया सेट्ठा, हीना ब्राह्मणा” ।

बुद्ध धर्ममा जातिव्यवस्था छैन । जाति व्यवस्था नभए पछि जाति वा जन्मका आधारमा कोही ठूलो सानो हुँदैन । जातिभेद छैन तर माथिको भनाई बुद्धको हो भनेर “दीघनिकाय” मा लेखिएको छ । त्यसको अर्थ ‘यदि जन्मका आधारले मानिस ठूलो सानो हुन्छ भने पनि जन्मका आधारमा ब्राह्मणभन्दा क्षत्री नै श्रेष्ठ हो’ भन्ने हुन्छ ।

दीघनिकायमा परेको बुद्धको यो उक्तिले दुईवटा कुरातिर संकेत गर्छ । पहिलो कुरा बुद्धभन्दा पहिले भारतीय समाजमा जाति व्यवस्था थियो । जन्मले सानो ठूलो हुँदैन भन्ने अर्थमै जन्मले क्षत्रीयहरु देश रक्षक र प्रजा पालक हुने भएकोले ब्राह्मणभन्दा श्रेष्ठ हुन्छन् भनेका होलान् । दोश्रो कुरा त्यो भनाईले बुद्धकालीन समाजमा पनि जात व्यवस्थाको अभ्यास थियो भन्ने हुनजान्छ ।

बुद्ध नेपालमा जन्मेका हुन भनेर नेपालले गौरव गर्छ । अझ बुद्धलाई आफ्नो जाति धर्मका हुन भनेर दावी गर्ने प्रतिश्पर्धा पनि छ । थारु समुदायले बुद्धलाई आफ्नो विरादरीका मान्छन् । मगरहरुले पनि बुद्धलाई आफ्नै ठान्छन् । कैयौं इतिहासकारहरुले बुद्धलाई क्षत्रीय वंशका हुन् भनेर मानेको देखिन्छ । शाक्यहरुले दावी गर्नु त स्वाभाविक भयो । कुनै खस विद्वानहरुले पनि बुद्ध आफ्नै कुलका हुन भन्ने दावी गरेको देखिन्छ । बुद्धकाल निकै पुरानो अर्थात इसापूर्व छैटौ शताब्दीको भएकोले ऐतिहासिक तथ्यहरु प्राप्त हुँदैनन् । त्यसैले सबैलाई दावी गर्ने अवसर मिलेको छ ।

बुद्धको जात, वर्ण वा जाति जेसुकै होस्, बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको हो भन्ने कुरा प्रमाणित तथ्य हो । बुद्ध जन्मेको ठाउँ कपिलवस्तुको लुम्बिनी हो भन्ने मुख्य प्रमाण मौर्य सम्राट अशोकले इपू. २४५ तिर स्थापना गरेको ढुङ्गे स्तम्भ नै हो । अशोकले स्तम्भ खडा नगरिदिएका भए नेपालसंग “बुद्ध नेपालमा जन्मेका हुन” भनेर नारावाजी गर्ने आधार सायदै हुँदो हो । त्यसैले हाल भग्न अवस्थामा रहेको त्यही ढुङ्गे स्तम्भ नै नेपाल र नेपालीले बुद्ध आफ्नो भएको दावी गर्ने आधार प्रमाण रहेको छ ।

समयक्रममा लुम्विनी लुप्त भैसकेको थियो । स्तम्भ ढलेको थियो । संरचनाहरु ध्वस्त भएर जमिनमा भासिएका थिए । जङ्गल भरिएको थियो । सन १८९७ मा ब्रिटिस इन्डिया सरकारका पुरातत्वविद जर्मनीका एलाइस एन्टोन फुररले उत्खनन् गरेर स्तम्भ पत्ता लगाएका हुन् । उत्खननको खर्च तत्कालीन राणा सरकारले वहन गरेको थियो । पीसी मुखर्जीले तिलौराकोट नगर नै प्राचीन कपिलवस्तु हो भनेर प्रमाणित गरेका हुन् । स्तम्भमा कुँदिएको पाली भाषा र ब्राह्मी लिपीको अखभिलेखमा “शाक्यमुनि बुद्ध जन्मेको लुंमिनी गाउँ” भनेर लेखिएको छ । बुद्धको जन्मस्थल लुम्बिनी भएको प्रमाणित गर्ने मुख्य आधार त्यही हो ।

अशोक स्तम्भले अर्को एउटा कुरामा पनि प्रकाश पारेको छ । इसं १३१२ मा खस राजा रिपु मल्लले शिलास्तम्भको शिरमा आफ्नो नाम लेखाएका छन् । रिपु मल्लले लुम्बिनी क्षेत्रमा गरेको भ्रमणले दुईवटा कुरातिर संकेत गर्छ । पहिलो कुरा लुम्बिनी तत्कालीन खस साम्राज्य अन्तर्ग पर्दथ्यो र दोश्रो कुरा खस साम्राज्यमा बुद्ध धर्मको राम्रै प्रभाव थियो । यिनै तथ्यलाई आधार मानेर केही विद्वानहरुले बुद्धलाई खसवंशी भनेर अनुमान गर्ने गरेका हुन् । तर तथ्यले त्यस कुरालाई प्रमाणित गर्दैन ।

स्पष्ट छ सिद्धार्थ गौतम शाक्यवंशी थिए । शाक्यवंशको उद्गमस्थल कहाँ हो भन्ने कुराको निश्चित आधार प्रमाण फेला नपरिसकेको भए पनि बुद्ध ग्रन्थहरुमा उल्लेख भएका कथाहरुले शाक्यवंशको मूलतिर संकेत गर्छन् । लुम्बिनी ग्रामलाई दक्षिण एशियाकै सबभन्दा पुरानो बस्ती भनेर समेत दावी गरिन्छ । यो दावी प्रमाणित नभए पनि बुद्धभन्दा करीब एक डेढ सय वर्ष अघि नै त्यो बस्ती स्थापित भएको हुनुपर्छ भनेर अनुमान गरिन्छ । कपिलमुनिको स्वीकृति लिएर कोशल राज्यका इक्ष्वाकुवंशीहरुले कपिलवस्तुको बस्ती बसालेका हुन  भनिन्छ । अर्थात बुद्धलाई इक्ष्वाकुवंशका हुन भनेर मानिदै आएको छ । इक्ष्वाकु वंशको लहरो समातेर इतिहास खोज्दै जाँदा अयोध्या हुँदै गुजरातसम्म पुग्दछ । बौद्ध ग्रन्थहरु दिग्घनिकाय र सुमङ्गल विसालिनीमा कपिलवस्तुको स्थापनाको बारेमा उल्लेख भएको छ ।

शाक्यवंशको बारेमा ती दुई ग्रन्थमा रोचक कथा लेखिएको छ । प्राचीन कोशल राज्यका एउटा राजाले आफ्नी जेठी रानीतिरका ५ जना राजकुमारी र ४ जना राजकुमारहरुलाई देश निकाला गरिदिएछन् । उत्तरदिशातिर हानिएका ती राजपुत्रपुत्रीहरु घुम्दै फिर्दै कपिलमुनिको आश्रममा आइपुगेछन् । कपिलमुनिको स्वीकृति लिएर नजिकैको जङ्गल फाँडेर बस्ती बसालेछन् । चारै राजकुमारहरुले आफ्नै बहिनीहरुसंग विहे गरेछन् । उब्रेकी जेठी राजकुमारी भने राजामाताको रुपमा अविवाहित रहिछन् । तिनै चारजोडी राजाका छोराछोरीहरुका सन्तान नै शाक्यवंशीको रुपमा प्रख्यात भएछन् । त्यस क्षेत्रको सक नामको वृक्षहरु फांँडेर आवाद गरेका हुनाले इक्ष्वाकुवंशीहरु शाक्य भनिन थालेका रहेछन् ।

त्यही शाक्यवंशमा इपु. ६२३ मा सिद्धार्थ गौतमको जन्म भएको थियो । ज्ञान प्राप्त गरेपछि सिद्धार्थ बुद्ध भनिए । डा. भिमराव अम्वेडकरले आफ्नो शोधग्रन्थमा सिद्धार्थको गृहत्यागको बारेमा उल्लेख गरेका छन् । उनको शोधले मानिसको शवयात्रा देखेपछि राजकुमार सिद्धार्थमा वैराग्य उत्पन्न भएको हो भन्ने लोकप्रचलित कथालाई खण्डित गरिदिन्छ । कथासार यस्तो छ ः कोलिय र शाक्य गणराज्यको बिचबाट बग्ने रोहिणाी नदीले दुई देश सिंचित हुन्थ्यो । एकवर्ष किनै लामो खडेरी परेछ । नदीको पानी सुकेर सानो रह्यो । दुबै राज्यलाई प्रयाप्त पानी नपुग्ने भो । नदीको पानी पालो गरेर उपभोग गर्नुपर्ने भएपछि कसले पहिले सिंचाई गर्ने भन्ने विषयमा दुई राज्यबीच विवाद उत्पन्न भएछ । झगडा चर्कदै जाँदा दुई देशबिच युद्ध हुने सम्भावना बढ्यो । राजकुमार सिद्धार्थले बरु दोश्रो पालोमा पानी प्रयोग गर्ने तर पानीकै लागि मित्र राज्यसंग युद्ध गर्ननहुने राय दिए । युद्धको विपक्षमा उभिए ।

कोलिय राजघराना बुद्धको मावली थियो । मावलीको पक्ष लिएको भनेर कपिलवस्तु गणराज्यको सभाले सिद्धार्थलाई देशद्रोही ठह¥यायो र ज्यान सजायँको फैसला सुनायो । राजा सुद्धोधनले विशेष याचना गरेर सिद्धार्थको सजायँलाई देशनिकालमा बदले । घरबार त्यागेर सन्यासी जीवन बिताउनुपर्ने सर्तमा सिद्धार्थको सजायँ कम गरिएको थियो । त्यसैले सिद्धार्थले राज्यत्याग गरेर श्रमण धर्म ग्रहण गरे । घरबार त्यागेपछि सर्वप्रथम एक वर्षजति सिद्धार्थ महामुनि कपिलको आश्रममा बसेर अध्ययन गरे । त्यसपछि मात्र उनी बौद्धगयातिर लागेका थिए । बुद्धको दर्शन कपिलको सांख्यदर्शनबाट प्रभावित भएको देखिनृुको कारण त्यही थियो ।

कपिलवस्तु गणराज्यको स्थापनाको बारेमा विवाद रहे पनि त्यसको पतन भने गौतम बुद्धको जीवनकालमै भएको थियो भनेर मानिन्छ । ऐतिहासिक प्रमाणले त्यही कुरालाई प्रमाणित गर्दछ । शुद्धोधन कपिवस्तु गणराज्यका अन्तिम गणप्रमुख (राजा) थिए । कोलीय, कपिलवस्तु, रामग्राम आदि सबै तत्कालीन कोशल साम्राज्य अन्तर्गतकाका सामन्त राज्यहरु थिए । ती सामन्त राज्यहरुबिच आपसमा झगडा र युद्ध हुँदै रहन्थ्यो । गणराज्यहरुबिच आपसमा विवाद भएमा कोशल राज्यले हस्तक्षेप गर्ने अधिकार राख्थ्यो । ती सबै राज्यहरु कोशल मातहतका राज्य भएकोले उसको हैकम चल्थ्यो । एउटा विशेष घटनाको कारण देखाएर कोशलले कपिलवस्तु गणराज्य हडपेको थियो ।

कोशल राज्यको आक्रमणबाट कपिलवस्तुको अस्तित्व सदाको लागि समापत भएको रोचक घटना विवरण रमाइलो छ । बुद्धका जातक कथामा लेखिएअनुसार कोशलका राजा प्रसेनजितले कपिलवस्तुकी राजकुमारीसंग विववाह गर्ने प्रस्ताव राखेछन् । होइन, हुदैन भन्ने सामथ्र्य कपिलवस्तुसंग थिएन । कोशलका राजालाई राजकुमारी दिनु नै पर्ने भयो । कोशलबाट जन्ती आयो । अन्तिम क्षणमा कपिलवस्तुले वेइमानी ग¥यो । डोलीमा राजकुमारीको सट्टा दासीकन्यालाई राखेर विदाई गरियो । धेरै वर्षपछि दासीपुत्र राजकुमार मावली कपिलवस्तुमा आउँदा तल्लो जातको भनेर वेइज्जत गरियो । आफूले गद्दी प्राप्त गरेपछि मावलीमा पाएको अपमानको बदला लिन दासीपुत्र राजाले कपिलवस्तुमाथि आक्रमण गरे । भिषण युद्ध भयो । राजधानी ध्वस्त भयो । हजारौं मानिसहरु मारिए । कपिलवस्तु युद्धमा नराम्रोसंग पराजित भयो । युद्धमा बचेका शाक्यहरु भागेर यत्रतत्र छरिए । काठमाडौ्रको कुरिया गाउँका शाक्यहरु त्यतिखेरै भागेर काठमाडौैं पसेका हुन् भनिन्छ ।

कपिलवस्तु गणराज्य कोशलको अधिनमा प¥यो । शाक्यहरुको बिल्लीबाठ भयो । राज्य उजाडियो । मानिसहरु ज्यान जोगाउन यत्रतत्र लागे । कपिलवस्तुको बस्ती जङ्गलमा रुपान्तरण भयो । उक्त घटनाको २÷३ सय वर्षपछि मौर्य सम्राट अशोक बुद्धको जन्मभूमिमा आएर स्तम्भ खडा गरे । त्यही शिलास्तम्भको शिरानमा खस राजा रिपु मल्लले आफ्नो नाम लेखाए । उनले काठमाडौंमा समेत आक्रमण गरेका थिए ।

अशोक स्तम्भमा रिपु मल्लको नाम लेखिनु, अशोक चल्ललाई “हेवज्रचरणारविन्दमधुकर” को उपाधि मिल्नु, आदित्य मल्ल  तिब्बतको शाक्य मठमा भिक्षु बनेर रहेको कुराको प्रमाण तिब्बती वंशावलीमा भेटिनुले खस राजवंश बुद्धधर्मसँग आवद्ध रहेको र केही समय बुद्ध धर्म खस राज्यको राज्यधर्म रहेको प्रमाण मिल्ने हुनाले खस विद्वानहरुलाई सिद्धार्थ गौतम खसवंशी थिए भनेर दावी गरेका हुनुपर्छ । तर वंशावली र पुस्तावली प्रमाणले बुद्धसंग खसजातिसँगको सम्बन्ध पुष्टि हुदैन । खस साम्राज्यका संस्थापक नागराज तिब्बतको पश्चिमको ङारी प्रदेशबाट झरेका र तिब्बती वंशावलीमा समेत उनको तिब्बती नामको उल्लेख भएको हुनाले उनी खसवंशी थिए । उनको आगमन मार्ग उत्तरबाट दक्षिणाभिमुख थियो । बुद्धको वंशलहरो दक्षिणबाट उत्तराभिमुख भएर कपिलवस्तुसम्म आइपुगेको देखिने हुनाले सिद्धार्थ गौतमको वंशसम्बन्ध खस जातिसंग थियो भन्ने आधार भेटिदैन । -जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here