— राज्यलक्ष्मी शाक्य
यी शब्दहरु लेख्न बस्दा म आफ्नै उपचारको लागि नर्भिक इन्टरनेशनल हस्पिटलको विस्तरामा छु । डाक्टरहरुको भाषमा ‘एलर्जी’ भएर मलाई अस्पतालमा भर्ना हुनु परेको हो । दुवै हातका पाखुराहरु चिलाउने र पोल्ने समस्याले म पीडित छु । केही दिन अघि मात्र कोरोना संक्रमणबाट मुक्त भएकी म लगत्तै ‘एलर्जी’ को समस्याले सताइनु पर्दा दुख पाउने स्वाभाविक हो । कोरोनाको संक्रमणले दिएको पीडा भन्दा कैयौं गुणा धेरै पीडा ‘एलर्जी’ ले दिएको छ । तीन वर्ष अघि पनि यो समस्याबाट म पीडित भएकी थिएँ । अहिले फेरि समस्या दोहोरिएर उपचारका क्रममा अस्पतालमा आइपुग्दा मेरो रोगभन्दा विश्व मानव जातीलाई सताईरहेको र विकसित रुप देखाउँदै गएको कोरोना भाइरस बारेमै चिन्ता लाग्ने गर्दछ ।
कोरोना भाइरसको खोप कति विश्वसनीय छ भन्न सकिदैन, तर खोप लगाउने अभियान जारी छ । पहिलो खोप लगाएका व्यक्तिहरुले दोस्रो खोप लगाउने प्रतिक्षा गरिरहेका छन् । दोस्रो खोप समयमै लगाउन नपाउँदा नागरिकहरुमा विभिन्न त्रास पैदा भएको देखिन्छ । मानिसहरुमा उठेका प्रश्नहरुमा केही विज्ञहरुले सुझाव पनि दिएका छन् ।
भारतबाट खोपको आपूर्तिमा देखिएको असहजताले समयमै अक्सफर्ड आस्ट्राजेनेकाको दोस्रो मात्रा खोप लगाउनुपर्ने कार्य तालिकालाई गम्भीर रूपमा प्रभावित बनाएको छ । दोस्रो चरणको खोप कार्यक्रम अन्तर्गत ६५ वर्ष वा त्योभन्दा माथिको उमेर समूहका १३ लाख ६९ हजार ५ सय २२ जनाले गएको फागुन २३ देखि चैत १० गतेसम्म पहिलो मात्रा कोभिशील्ड खोप लगाएका थिए ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले अक्सफर्ड आस्ट्राजेनेकाको पहिलो मात्रा खोप लगाएको आठदेखि १२ हप्ताभित्र दोस्रो मात्रा खोप लगाउँदा उपयुक्त हुने सुझाव दिएको छ ।
गएको अप्रिल महिनामा उसले संशोधन गरेको आस्ट्राजेनेका खोपको प्रयोगसम्बन्धी अन्तरिम निर्देशिकामा उक्त सङ्गठनले कारणवस १२ हप्ताभन्दा ढिलो हुने परिस्थितिमा सम्भव भएसम्म मौका मिल्नासाथ दोस्रो खोप दिन भनिएको छ । तर खोप भित्र्याउन भइरहेको विलम्बका कारण ज्येष्ठ नागरिकहरूले खोपको प्रतिक्षा गरिरहेका छन् । पालो कहिले आउने हो ? थाहा छैन ।
दोस्रो मात्रा खोप निर्धारित समयमा उपलब्ध गराउन नसकिएका कारण उब्जिएका प्रश्नको जवाफ अनुमानको भरमा दिनु बाहेक चिकित्सकहरुसँग पनि तथ्यगत जवाफ छैन । अक्सफर्ड आस्ट्राजेनेका खोपको लेबलमा ४ देखि १२ हप्ताभित्र यो खोप दिन मिल्ने भनिएको भए पनि प्रभावकारिता प्रतिरोधी क्षमताको अध्ययनका आधारमा दोस्रो मात्रा ८ देखि १२ हप्ता भित्र दिँदा त्यो उपयुक्त हुने भनिएको छ । त्यहाँ भन्दा ढिलो हुने अवस्थामा सकेसम्म चाँडो खोप दिइनुपर्ने उसको सुझाव छ । आस्ट्राजेनेका खोपको विकासमा महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक एन्ड्रयु जे पोलर्डले कम्तीमा तीन महिनासम्म खोपको पहिलो मात्राले राम्रो सुरक्षा प्रदान गर्ने सुनिश्चित भए पनि विभिन्न किसिमका समयतालिका वा खोप मिसाएर प्रयोग गर्ने विषयमा थप जानकारी पाउन बाँकी नै रहेको जानकारी गराएका छन् ।
केही समय पहिले थाइल्यान्डले पहिलो मात्रा आस्ट्राजेनेका खोप लगाएका व्यक्तिले १६ हप्ताभित्र दोस्रो मात्रा खोप लगाउन मिल्ने भने पनि पछि आफ्नो स्वास्थ्य नियामक निकायको सल्लाहमा त्यसलाई १२ हप्तामा नै झारेको थियो ।
भारत र स्पेनले पनि एस्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाउने अवधिलाई १६ हप्तासम्म पु¥याउने निर्णय गरेका छन् । सङ्क्रामक रोगसम्बन्धी विज्ञ तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डाक्टर बुद्ध बस्न्यातले १६ हप्तासम्म खोप लगाउँदा हुने उल्लेख गर्दै यसबारेमा अध्ययनहरू चलिरहेको खुलासा गरेका छन् ।
पहिलो मात्रा खोप लगाएको बाह्र हप्तापछि एन्टीबडी भनिने कोभिड १९ विरुद्धको प्रतिरोधी क्षमता कमजोर हुने कुरा पनि चर्चामा आएको छ । सङ्क्रामक रोगसम्बन्धी विज्ञ डाक्टर बस्न्यात साधारणतया एन्टिबडीको मात्रा घट्दै जाने भए पनि फेरि त्यसलाई बढाउन नसकिने भन्ने नरहेको जनाउँछन् । १६ हप्ताको समयमा खोप पर्दा पनि एन्टिबडीको तह बढ्ने सम्भावना हुन्छ । मलाई लाग्छ यसको प्रमाण छैन तर अनुसन्धानहरू चलिरहेको उनले जनाएका छन् । यसैबाट स्पष्ट हुन्छ, हामी सबै कुरा अनुमानका भरमा चलिरहेका छौं कोरोना भाइरसको खोप पनि अनुमान हो । दुई वटा खोप लगाइसकेकाहरुलाई पनि संक्रमण देखिएको छ । यसको सुनिश्चितता अभैm हुन सकेको छैन् । मेरो ‘एलर्जी’ बिरामी भन्दा कोरोना संक्रमण भयावह भइरहेकोले विज्ञानलाई असफल बनाएको कोरोना भाइरसका कारण अगाडि ‘एलर्जी’ को समस्या सामान्य नै मान्नु पर्दछ । मेरो उपचारमा लाग्नु भएका चिकित्सकहरुले मेरो उपचारमा सफलता पनि पाइरहनु भएको छ । आजलाई यत्ति मात्र ! -जनधारणा साप्ताहिकबाट


















