काठमाडौं । संक्रामक रोगबाट प्रभावितहरूका लागि दिइने राहत तथा पुनर्स्थापना सम्बन्धी प्रावधान ऐनमा स्पष्ट व्यवस्था हुनुपर्नेमा सांसदहरूले जोड दिएका छन्।
बैठकमा सांसद विमला राई पौड्यालले राहत र पुनर्स्थापनाको प्रावधान प्रष्ट रुपमा आउनुपर्ने बताइन्। राहत दिने आधिकारिक र जिम्मेवार निकायको प्रष्टता हुनुपर्ने र पुनर्स्थापना र पुनर्उत्थान सम्बन्धी नीति पनि सरकारले बनाउनुपर्ने उनको धारणा छ।
सांसद बेदुराम भुसालले संक्रामक रोगहरू प्राकृतिक विपत्तिसँग जोडिएर आउने भएकाले विपत व्यवस्थापनसँग सम्बन्धित संस्थाहरूसँग सहकार्य गर्नुपर्ने व्यवस्था गर्नुपर्ने जनाए । संक्रामक रोगको प्रकोप आउँदा अन्य रोगका बिरामीले समेत पाउने उपचार सेवामा कठिनाई भएको भन्दै त्यस्तो स्थिति नहुनका लागि राज्यले प्रबन्ध मिलाउनुपर्ने उनको धारणा छ।
सांसद ठगेन्द्र प्रकाश पुरीले विद्यमान ऐनमा संक्रामक रोगको बारेमा स्पष्ट परिभाषा नगरिएको बताए। उनले यस ऐनको संशोधन आवश्यक रहेको धारणा राखे। सांसद भगवती न्यौपानेले राहत वितरणलाई राज्यको निकायबाट एकद्वार प्रणाली अनुरुप गरिने व्यवस्था गर्नुपर्नेमा जोड दिइन्।
सांसद भैरव सुन्दर श्रेष्ठले संक्रामक रोगको बेलामा निजी अस्पतालहरूले मनोमानी रुपमा शुल्क लिने गरेको भन्दै अस्पतालहरूले शुल्क लिने मापदण्ड पनि निश्चित गरिनुपर्ने जनाए । विपत्तिपछि वितरण गरिने राहतमा राज्यलाई पछि पारेको देखाउन व्यक्तिहरू हाबी भएको भन्दै सांसद श्रेष्ठले व्यक्तिवादलाई नियन्त्रण गर्न ऐनमा व्यवस्था गरिनुपर्ने जनाएका छन् ।

















