उपाधिका लागि लिभरपुल र म्यानचेस्टर सिटी

54

एजेन्सी/इंग्लिस प्रिमियर लिगमा आज बिहीबार राति पौने २ बजे हुने खेल प्रिमियर लिगको उपाधिका लागि लिभरपुल र म्यानचेस्टर सिटी खेल हुने भएको छ ।

एक खेल पनि नहारेको लिभरपुल र तीन खेल हारेको म्यानचेस्टर सिटीबीचको खेलले अहिले नै विजेता पक्का नभए पनि एउटा बाटो भने देखिने छ । यसअघि लिगमा उनीहरुको बीचको खेल गोलरहित बराबरी भएको थियो ।

२० खेलमा ५४ अंकसहित शीर्ष स्थानमा रहेको लिभरपुल र ४७ अंकसहित तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीबीचको खेलले लिगमा भविष्य निर्धारण गर्न भूमिका खेल्नेछ । एक खेल बढी खेलेको टोटनह्याम ४८ अंकसहित दोस्रो स्थानमा छ ।

हुन त २०१४ को प्रिमियर लिग हेर्ने हो भने यसै भनिहाल्न हतारो पनि हुनेछ । २०१४ अप्रिल २० मा म्यानचेस्टर सिटीभन्दा लिभरपुल ९ अंकले अघि थियो । तर, अन्तिममा सिटीले लिग नै जितेको थियो ।

यसपटक लिभरपुलभन्दा पछि परेकाले पनि बिहीबारको खेलमा म्यानचेस्टर सिटीलाई जितको दबाव छ । लिभरपुललाई भने जित निकाल्न नसकेपनि बराबरीले नै ठूलो राहत दिने छ ।

सिटीमा एक खेल गुमाएका गुन्डोगन लिभरपुलविरुद्ध टिममा फर्कंदै छन् । घाइते रहेका केभिन डे ब्रायन पनि अभ्यासमा फर्किएका छन् । फाबियन डेल्फ प्रतिबन्धमा नै छन् भने बेन्जामिन मेन्डी पनि लामो समयदेखि बाहिर नै छन् ।

यस्तै लिभरपुलमा घाइते रहेर दुई खेल गुमाएका जेम्स मिल्नर सिटीविरुद्धको खेलमा फर्कने भएका छन् । अल्ब्रेटो मोरेनो पनि फिट भएका छन् । जोर्डन हेन्डरसन र नेबी केटिया पनि टिममा उपलब्ध हुन सक्ने छन् ।

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओलाका अनुसार, अवस्था एकदमै प्रस्ट छ । हामी सात अंकले पछि छौँ । अझै धेरै खेल बाँकी नै छ । हाम्रो लागि अंक दुरी घटाउने यो राम्रो अवसर हो । हामी जितमा केन्द्रित भएर नै खेल्ने छौँ । सबैले सोधिरहेका हुन्छन्, यदि हामीले हार्‍यौँ भने के हुन्छ रु हामी खेल आफ्नो नियन्त्रणमा राख्ने प्रयास गरेर नै खेल्ने छौँ । प्रिमियर लिगमा जति पनि खेल छन्, सबैमा हामी उपाधिका लागि नै विचार गर्ने छौँ ।

लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले म्यानचेस्टर सिटीसँगको खेल सामान्य नहुने बताएका छन् । उनीहरु असाध्यै बलियो टिम हो । राम्रा खेलाडी र उत्कृष्ट प्रशिक्षक भएको टिम । हामी पनि असाध्यै बलियो बनेर खेल्नुपर्छ । अरु खेलमा जस्तै जितका लागि नै सोचेर बढ्नुपर्छ । मेरा लागि विश्वको सबैभन्दा उत्कृष्ट टिम नै म्यानचेस्टर सिटी हो । हाम्रा लागि अब जे अगाडि आउँछन् त्यही नै यथार्थ हुने छ ।

म्यानचेस्टर सिटी र लिभरपुलबीच भएको पछिल्लो ११ खेलमा सिटीले एक खेल मात्रै जितेको छ । तीन खेल बराबरी भएका छन् भने ७ खेल लिभरपुलले जितेको छ ।

म्यानचेस्टर सिटीले नयाँ वर्षको पहिलो १२ खेलमा ११ खेल जितेको छ । २०१२ मा सन्डरल्याण्डसँग हारेको खेलबाहेक नयाँ वर्षको पछिल्लो ११ खेल सिटीले जितेको हो ।
बिहीबारको खेलमा सिटी विजयी भएमा गार्डीओलाको म्यानचेस्टर सिटीबाट एक सयौँ जित हुने छ । गार्डीओलाले सबैभन्दा धेरै खेल हारेको पनि जर्गेन क्लोपविरुद्ध नै हो ।

प्रशिक्षका रुपमा एकअर्काविरुद्धका १५ खेलमा गार्डीओलाले ५ खेल जितेका छन् भने क्लोपले ७ खेल जितेका छन् ।

लिभरपुल अहिले सिटीभन्दा सात अंकले अघि छ । प्रिमियर लिग इतिहासमा नयाँ वर्षको सुरुवातमा यत्तिको अंक दुरी बनाएको कुनै पनि टिमले लिग हारेको छैन ।

२० खेल खेलिसक्दा सबैभन्दा कम गोल खाने कीर्तिमानमा पनि लिभरपुलले यसपटक बराबरी गरेको छ । लिभरपुलले २० खेलमा ८ गोल मात्रै खाएको छ, जुन २००४–०५ मा चेल्सीले बनाएको कीर्तिमानसँगको बराबरी हो ।

घरेलु मैदानमा लिभरपुलविरुद्ध खेलेको ६ खेलमा नै म्यानचेस्टर सिटीका सर्जियो अग्युरोले गोल हानेका छन् । यस्तै लिभरपुलका मोहम्मद सलाहले म्यानचेस्टर सिटीविरुद्धको पछिल्लो चार खेलमा तीन गोल गरेका छन् भने दुई गोलका लागि अवसर बनाएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here