मार्तडी । लगातारको अविरल वर्षाका कारण साँफे-मार्तडी राजमार्ग पुनः अवरुद्ध भएको छ। केही दिनदेखि सञ्चालनमा आएको राजमार्ग पुनः अविरल वर्षाका कारण सडकमाथिबाट आएको पहिरोले अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए।
असारको सुरुआतबाटै आएको अविरल वर्षाका कारण राजमार्गको पहिरो पन्छाएर जीप तथा मालबाहक ट्र्याक्टर सदरमुकाम मार्तडीमा सहजरूपमा आवतजावत गर्ने गरेको भए पनि आज बिहान पुनः अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए। उनले अवरुद्ध सडक पानी रोकिएपछि तत्काल स्काभेटर प्रयोग गरी पहिरो पन्छाएर यातायातका साधन सञ्चालनमा ल्याउने बताए।
जिल्लामा शुक्रबारदेखि लगातार अविरल वर्षा हुँदा बाढी र पहिरोको त्रास बढ्न थालेको छ। डोजर प्रयोग गरेर बनाइएका सडकका कारण पहिरो जान थालेपछि यहाँका नागरिक त्रसित बनेका छन्। रासस


















