इरानले बहराइनलाई दियाे कडा चेतावनी

2

एजेन्सी । पश्चिम एसियामा तनाव पुनः चर्किरहेका बेला इरानले बहराइनलाई कडा चेतावनी दिएको छ। इरानका सर्वोच्च नेताका वरिष्ठ सल्लाहकार अली अकबर बेलायतीले बहराइनलाई आफ्नो सीमा ननाघ्न र इरानलाई कठोर कदम चाल्न बाध्य नपार्न चेतावनी दिएका छन्।

तस्निम समाचार संस्थाका अनुसार बेलायतीले बहराइनलाई आफ्ना गतिविधिबारे सावधानी अपनाउन आग्रह गर्दै कुनै पनि उक्साहटको जवाफ इरानले कडा रूपमा दिने बताए। इरानले अमेरिकाले आफ्नो विरुद्ध सैन्य कारबाही गर्न खाडी क्षेत्रमा रहेका आधारहरू प्रयोग गरेको आरोप लगाउँदै आएको छ।

तेहरानले शुक्रबार र शनिबार बहराइनस्थित अमेरिकी नौसैनिक अड्डालाई निशाना बनाएको दाबी गरेको थियो। तर बहराइनसहित खाडीका अन्य मुलुकहरूले उक्त आरोप अस्वीकार गरेका छन्। बहराइनले पछिल्ला आक्रमणले आफ्नो सार्वभौमिकताको उल्लङ्घन गरेको र क्षेत्रीय स्थिरता कमजोर बनाएको जनाएको छ।

यसबीच अमेरिका र इरानबीच कतारको राजधानी दोहामा भएको वार्तामा दुवै पक्षले सैन्य आक्रमण रोक्ने र कूटनीतिक संवादलाई निरन्तरता दिने सहमति गरेका छन्। एक्सियोसका अनुसार दुवै देशले प्रत्यक्ष सैन्य गतिविधि रोक्ने निर्णय गरेका छन् र प्राविधिक तहका वार्ता जारी राख्न सहमत भएका छन्।

हालको तनावको केन्द्रमा हर्मुज जलघाँटी रहेको छ। व्यापारिक जहाजहरूको आवागमन र सुरक्षासम्बन्धी सम्झौताका विभिन्न व्याख्याका कारण दुवै पक्षबीच मतभेद बढेको हो। प्रारम्भिक समझदारीअनुसार इरानले जलमार्गको सुरक्षा सुनिश्चित गर्ने र अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउने सहमति भएको थियो।

गत साता स्विट्जरल्यान्डमा भएको वार्तामा अमेरिकी र इरानी पक्षबीच जलमार्गमा हुने ढुवानी समन्वयका लागि प्रत्यक्ष सञ्चार संयन्त्र स्थापना गर्ने विषयमा पनि छलफल भएको थियो। तर इरानले जहाजले आफ्नो सेनासँग प्रत्यक्ष समन्वय गर्नुपर्ने नयाँ माग अघि सारेपछि उक्त योजना कार्यान्वयन हुन सकेन।

इरानले अमेरिकाले समझदारीका मुख्य सर्तहरू पूरा नगरेको आरोप लगाउँदै निर्धारित प्राविधिक वार्ता रद्द गरेको छ। इरानी अधिकारी मेहदी फजाइलीले इरानका रोक्का गरिएका वित्तीय सम्पत्तिमा पहुँच उपलब्ध गराउने विषय पनि वार्ता अवरुद्ध हुनुको एउटा प्रमुख कारण रहेको बताए।

पश्चिम एसियामा पछिल्ला सैन्य गतिविधि, हर्मुज जलघाँटीको सुरक्षा र अमेरिकी सैन्य उपस्थितिलाई लिएर बढ्दो तनावका बीच इरानको बहराइनप्रति आएको यो चेतावनीले क्षेत्रीय अस्थिरता थप बढ्न सक्ने चिन्ता उत्पन्न गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here