मधुमेह र कोरोनाको सम्बन्ध के छ ? संक्रमितलाई खोप दिने कि नदिने ?

21

-राज्यलक्ष्मी शाक्य

कोरोना संक्रमणले मृत्युदर घटाएको छ । तर संक्रमण अभैmपनि जारी छ । त्यसैले संक्रमण मुक्त भयौं भनेर सन्तोष गरिहाल्ने अवस्था छैन । कोरोना संक्रमणले सबैभन्दा धेरै मधुमेहका विरामीहरुलाई मृत्युको मुखमा पु¥याएको पाइएको छ । एउटा तथ्यांकअनुसार विश्वमा अहिले करिब ४५ करोड मधुमेही छन् । त्यसैले ४५ करोड जनता कोरोना संक्रमणको कारणबाट जोखिम नजिक रहेको तथ्याङ्कले देखाएको स्पष्ट हुन्छ । हाल विश्वमा करिब १७ करोड मानिसहरु कोरोनाबाट प्रभावित रहेको पनि तथ्यांकले देखाएको छ ।

कोरोनाको लक्षण नभएका वा हल्का लक्षण भएका व्यक्तिहरुको परीक्षण नहुँदा अर्को त्यत्तिकै संख्या कोरोना संक्रमण भएका तर, परिक्षण नभएका हुन सक्दछन् । त्यसैले विश्वको ठूलो संख्याका मधुमेहीहरुमा कोरोना संक्रमण भएको स्पष्ट हुन्छ ।

मधुमेह रोग हुनेलाई कोरोना संक्रमण हुने खतरा बढी हुन्छ भन्ने कुरा स्पष्ट छ । स्वाथ्य विज्ञानले भने यो प्रमाणित गरिसकेको छैन । कोरोनाले प्र्याक्रियाजलगायत शरिरको मेटाबोलिज्मलाई असर गरेर मधुमेह शुरु हुन्छ भन्ने बारे पनि चर्चा चलेको छ । तर यो विषयमा पनि तथ्य प्रमाणित नभएको डा. भोजराज अधिकारीको भनाई छ ।

उहाँका अनुसार मधुमेहीमा कोरोना संक्रमण भएमा छिटो लक्षणयुक्त हुने, स्वाथ्य अवस्था बिग्रने, खतराको संकेत प्रष्ट देखिने र मृत्युसमेत बढी हुने गरेको पाइएको छ । समग्रमा कोरोनाबाट मृत्यु १ प्रतिशतभन्दा कम हुने गरेकोमा मधुमेही कोरोना संक्रमितको मृत्युदर करिब ८ प्रतिशत देखिएको तथ्यांकमा पाइएको छ ।

मधुमेहसँगै मुटुरोग, उच्च रक्तचाप, मिर्गौला रोग र पहिले नै फोक्सो सम्बन्धी दीर्घ रोगीहरुमा बढी जोखिम हुने देखिएको छ । मधुमेहका कारण पहिल नै मिर्गौला छोएका, प्यारालाइसिस भएका, एन्जियोप्लास्टी वा मुटुको वाइपास सर्जरी गरेकाहरुमा कोरोना संक्रमण हुँदा अवस्था अझ भयानक हुनसक्ने डा. अधिकारको दाबी छ ।

मधुमेहको कारण शरीरको कोषिकाहरुमा सुक्ष्म सुजन भइरहेको हुन्छ र भाइरसले पनि प्रभावित हुँदा कोषिकाहरुमा त्यसरीनै आक्रमण गर्ने हुनाले सम्बन्धित अंग छिटो खराब हुन्छ । मधुमेहको रगतका नलिहरु र स्नायु प्रणालीमा हुने प्रभावले कोरोनाका केही लक्षणहरुलाई बिरामीले शुरुमा थाहा नपाउने, नजरअन्दाज गर्ने वा मधुमेहकै लक्षण सम्झेर भ्रम पर्ने गरेका छन् ।

लकडाउनको कारण घरमा बसिरहँदा खाना र खाजाको मात्र बढ्ने (करिब २० प्रतिशत बढी कार्बोहाइड्रेट खाइने) तर, सो को अनुपातमा बाहिर निस्कन नमिल्ने हुनाले नियमित कसरत र हिँडाइ करिब ४० प्रतिशतका दरले घटेको तथ्यहरुले देखाएको छ । यसले रगतमा ग्लुकोज अनियन्त्रित रुपमा बढ्छ र विषेश गरी खाएपछिको सुगर बढ्छ । जुन मुटु र रक्तनलिलाइ बढी घातक मानिन्छ ।

हाम्रो जस्तो मुलुकमा इन्सुलिन लगाउन डराउने, लगाउन तयार भए पहिले नै मधुमेहको कारणले आँखा कमजोर भइसकेको हुने वा ज्ञानको कमी हुन्छ । यस्तो अवस्थामा इन्सुलिन लगाइदिने आफन्त वा नजिकको स्वास्थ्यकर्मीको सहयोगसमेत लिने गरेको पाइन्छ । तर, कोरोनाका कारण भौतिक दुरी कायम गर्नुपर्ने हुँदा त्यसरी इन्सुलिन लगाइदिन नमिल्दा रगतमा ग्लुकोज झनै अनियन्त्रित भएर मधुमेह गम्भिर र जटिलतर्फ जान्छ । पछि कोरोना संक्रमण हुन थप सहयोग पुग्दछ ।

कोरोनाका कारण अस्पतालमा भर्ना भएका मधुमेहीमा छिट्टै ग्लुकोज नियन्त्रण गर्नुपर्ने हुन्छ, जुन ट्याबलेटबाट नियन्त्रण सम्भव हुँदैन । कोरोना संक्रमणले कलेजोको इन्जाइमहरु बढाउन सक्ने र गम्भीर हुँदै जाँदा  मिर्गौला प्रभावित गर्नसक्ने हुँदा  त्यस्तो बेला ट्याबलेट औषधि बन्द गर्नुपर्छ ।

कोरोना संक्रमितको उपचारमा प्रयोग हुने स्टेरोइड औषधिले  रगतमा ग्लुकोजको मात्रा बढाएर रोगको प्रतिरोधात्मक क्षमता कम गरिदिने, भइरहेको मधुमेहीको रगतमा ग्लुकोज बढाइदिने, मधुमेहमा प्रयोग हुने ट्याबलेट औषधिले काम नगर्ने अवस्था ल्याँउछ र रगतको ग्लुकोजको मात्रा नियन्त्रण गर्न दिइने इन्सुलिनको आवश्यकता बढेर जान्छ ।

अस्पतालमा भर्ना हुँदासमेत नियमित सुगर परीक्षण र इन्सुलिनको मात्रा मिलाउन धेरै पटक बिरामीसँग घुलमिल हुन स्वास्थ्यकर्मीलाई समेत अप्ठ्यारो हुने हुनाले रगतमा ग्लुकोजको मात्रा तलमाथि भइरहन्छ । यो कोषिकाको लागि घातक मानिन्छ ।

कोरोना संक्रमणको कारण अत्यधिक तनाव बढ्ने हुँदा ग्लुकोजको मात्रा अझ बढ्न जान्छ । मधुमेह आफैँमा रोग प्रतिरोध क्षमता कमजोर बनाउने अवस्था हो । यसमा कोरोना संक्रमण हुँदा धेरै एन्टिबायोटिकको प्रयोग, लामो अस्पताल बसाइ, ओसिलो र अशुद्ध अक्सिजन प्रयोग हुँदा कालो ढुसीको समेत संक्रमण देखिने गरेको छ । यसले मृत्युदर उच्च हुनसक्छ ।

मधुमेही र अन्य व्याक्तिले कोरोनाविरुद्धमा लिने होसियारीमा खासै तात्विक अन्तर छैन । खानपिन र जिवनशैलीको तरिका पनि उही नै हो । मात्र मधुमेहीले लिनुपर्ने थप होसियारी आफ्नो रोग अनुसारको जिवनशौली अपनाउने, खतराका सुचकहरु पहिचान गरी चिकित्सक र स्वास्थ्यकर्मीको निगरानीमा रही रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्नुपर्ने हुन्छ ।

आम जनमानसभन्दा बढी खतरा हुनेहुँदा सरकारले मधुमेहीहरुलाई कोरोनाविरुद्धको खोपमा प्राथमिकताको सूचीमा राख्नुपर्ने सुझाव डा. अधिकारीले राख्नु भएको छ ।—-जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here