आन्तरिक राजस्व कार्यालय कास्कीले भेटेन राजस्व लक्ष्य

62

कास्की । आन्तरिक राजस्व कार्यालय कास्कीले गत आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य भेट्टाउन सकेन। राजस्व संकलन सन्तोषजनक रहे पनि कोरोना महामारी रोकथामका लागि जारीे निषेधाज्ञाका कारण निर्धारित लक्ष्यमा पुग्न नसकिएको कार्यालयले जनाएको छ। कास्की र स्याङ्जा कार्यक्षेत्र रहेको सो कार्यालयले लक्ष्यभन्दा तीन प्रतिशत कम राजस्व उठाएको हो।

गत आवमा ४ अर्ब ८२ करोड २७ लाख ८५ हजार राजस्व उठाउने लक्ष्य रहेकोमा ४ अर्ब ६७ करोड ८५ लाख ९५ हजार रुपैयाँमात्र संकलन भएको कार्यालयका सूचना अधिकारी कर अधिकृत विजयप्रसाद लामिछानेले बताए।

आव २०७७/७८ मा आयकरतर्फ २ अर्ब ८५ करोड राजस्व संकलन भएको छ। यसैगरी मूल्य अभिवृद्धि करबाट १ अर्ब २९ करोड २० लाख, अन्तःशुल्कबाट १९ करोड ८५ लाख ६३ हजार, करको ब्याजबाट २८ करोड पाँच लाख ८६ हजार, घरभाडा करबाट ५ करोड ५४ लाख ९६ हजार, स्वास्थ्य सेवा करबाट  १२ लाख २२ हजार र शिक्षा करबाट चार लाख ५३ हजार रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी लामिछानेले जानकारी दिए।

कार्यालयमा गत वर्ष ३० हजार ८९२ करदाता थपिएका थिए।  आव २०७६÷७७ को असार मसान्तसम्म एक लाख ३४ हजार ६७० करदाता रहेकोमा गत आवमा ३० हजार ८९२ करदाता बढेर एक लाख ६५ हजार ५६२ पुगेका हुन्। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here