काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत आर्थिक वर्षमा एक हजारभन्दा बढी फर्म तथा कम्पनीलाई कारबाही गरेको छ। विभागले गत आर्थिक वर्ष २०७७/७८ मा गरेको बजार अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाकलापमा संग्लन भएका एक हजार ३५ व्यापारिक फर्म/कम्पनी तथा उद्योग कारबाहीमा परेका हुन्।
विभागको तथ्यांकअनुुसार ३७ फर्मबाट परीक्षणका लागि वस्तुको नमूना संकलन, ३८ फर्मको कारोवार रोक्का, १९ जनालाई अभियोग लगाइएको र तीनवटा साधन नियन्त्रणमा लिइएको थियो।
कारबाहीमा परेका उद्योगलाई लगाइएको जरिवानावापत दुई करोड ३९ लाख ८२ हजार बराबर राजश्व संकलन भएको विभागका प्रवक्ता शिवराज सेढाईँले बताए। उनका अनुसार एक वर्षको अवधिमा तीन करोड ७३ लाख ८४ हजार ४०१ बराबरको अखाद्य वस्तु नष्ट गरिएको छ।
पाँच कार्यालयबाट एक हजार ३४७ फर्मलाई कारबाही
विभागअन्तर्गत रहेका पाँच कार्यालय (विराटनगर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र धनगढी)ले गत आर्थिक वर्षमा एक हजार ३४७ व्यापारिक फर्मलाई कारबाही गरेका छन्।
ती फर्मलाई कारबाहीस्वरुप जरिवाना गर्दा एक वर्षको अवधिमा तीन करोड ३३ लाख ७० हजार राजश्व संकलन भएको छ। चार हजार ७७९ व्यापारिक फर्मको अनुगमन गरिएकामा ५१ फर्मको कारोवार रोक्का गरिएको थियो। साथै, तीन करोड ९८ लाख ५३ हजार २५९ बराबरको म्याद सकिएको वस्तु नष्ट गरिएको थियो।
त्यस्तै, चार हजार ४१ अन्य फर्मलाई समेत कारबाही गरिएको विभागले जनाएको छ। विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक कारोवार गर्ने फर्मलाई कारबाहीस्वरुप आर्थिक जरिवाना गर्दै आएको छ। RSS


















