प्रधानसेनापतिद्वारा ओलम्पिकमा छनौट भएका सेनाका खेलाडीलाई शुभकामना दिए

156

काठमाडाैं । नेपाली सेनाले जापानको टोकियोमा साउन ८ देखि सुरु हुने ओलम्पिकमा सेनाको तर्फबाट सहभागी हुने खेलाडीलाई बधाई र शुभकामनासहितको एक कार्यक्रम आयोजना गरेको छ।

जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति पूर्णचन्द्र थापाले साउन २४ गतेसम्म आयोजना हुने ३२औं गृष्मकालीन ओलम्पिक प्रतियोगितामा सहभागी हुन छनौट भएका नेपाली सेनाका खेलाडीहरुलाई बधाई तथा शुभकामना दिएका हुन्।

उनले उक्त अवसरमा नेपालमा खेलकुदको विकासका लागि नेपाली सेनाले समेत आफ्नो तर्फबाट दिँदै आएको योगदानको निरन्तरतास्वरुप हालसम्म ओलम्पिक प्रतियोगितामा नेपाली सेनाका २४ जना खेलाडीले आफ्नो कौशल प्रदर्शन गरिसकेको बताउँदै अग्रिम शुभकामना दिएका हुन्।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले पनि खेलाडीहरुलाइ शुभकामना दिनुका साथै हरेक खेलाडीको सपनाको रुपमा रहेको ओलम्पिक जस्तो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउनु खेलाडी आफैँमा गौरवको विषय हुनुका साथै यो क्षण नेपालको लागि ऐतिहासिक रहेको विचार व्यक्त गरे।

उनले ३२औं गृष्मकालिन ओलम्पिक प्रतियोगितामा छनौट हुन सफल भएका नेपाली सेनाका खेलाडीहरुलाई उत्कृष्ट प्रदर्शनको लागि शुभकामना दिनुहुँदै नेपाली सेनाले खेलकुद जगतमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए।

उक्त ओलम्पिक प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी सिपाही सरस्वती चौधरीले एकसय मिटर स्प्रिन्ट विधामा र सोही क्लबकी सिपाही कल्पना परियारले १० मिटर एयर राइफल विधामा प्रतिस्पर्धा गर्नेछन्।

प्रतिस्पर्धी खेलाडीहरु विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी हुँदै हाल गृष्मकालीन ओलम्पिक प्रतियोगितामा छनौट हुन सफल भएका छन्।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव, नेपाल ओलम्पिक कमिटिका महासचिव तथा कार्यकारी निर्देशक, नेपाल एथ्लेटिक्स संघका अध्यक्ष, नेपाल सुटिङ्ग संघका अध्यक्षलगायतको उपस्थिति रहेको सेनाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here