काठमाडौं । मेलम्ची खानेपानी विकास समिति पानीपोखरीले अबको २८ दिनभित्रमा काठमाडौंमा मेलम्चीको पानी ल्याउने तयारी भइरहेको जनाएको छ । आयोजना र ठेकेदार कम्पनीबीच सहमति भएकाले २८ दिनभित्र पानी पथान्तरण गरिसक्ने गरी तयारी थालिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए ।
“सहमति अनुसार निर्माण व्यवसायी तत्कालै निर्माण क्षेत्रमा परिचालन हुनेछ । अबको २८ दिनको दु्रत कार्यतालिका अनुसार दुई सिफ्टमा जनशक्ति परिचालन गरी पानी पथान्तरणका लागि आवश्यक कार्य सम्पन्न गर्ने गरी काम गरिनेछ”, प्रवक्ता पन्तले भने ।
पथान्तरण पश्चात् मेलम्ची नदीको पानी दैनिक १७ करोड लिटरका दरले उपलब्ध गराइने छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडबाट सुन्दरीजल पानी प्रशोधन केन्द्रमा प्रशोधन गरी उपत्यकामा वितरणका लागि पुनः उपलब्ध हुने उक्त विज्ञप्तिमार्फत जनाइएको छ ।
गत असार ८ गते वर्षायामको जोखिमलाई ध्यान दिएर सुरुङमार्फत् मेलम्चीको पानी सञ्चालन बन्द गरिएको थियो । गत साउन २८ र २९ गते मेलम्चीमा बाढी आएपछि पुनः हेडवर्क्स पुरिएकाले पानी पठाउन समस्या भएको प्रवक्ता पन्तले बताए ।


















