जनादेशको अनादरपछि परमादेशको बज्रप्रहार !

12

– निमकान्त पाण्डे

प्रधानमन्त्री केपी ओलीले  बालुवाटारबाट बाहिरिदै गर्दा लामो मन्तव्य दिनु भयो । आपूmलाई कुनै गुनासो नरहेको पनि भन्नु भयो । तर प्रधानमन्त्रीले एउटा निक्कै महत्वपूर्ण शब्द बोल्नु भयो — ‘जनादेशबाट आएको थिएँ, परमादेशबाट हटाइएको छु’ प्रधानमन्त्रीको यो अभिव्यक्ति नै गुनासो बोकेको पुलिन्दा हो भन्दा फरक पर्दैन । परन्तु, यथार्थमा भन्ने हो भने जनादेशको कदर गरिएको भर परमादेशको बज्रप्रहार पनि पर्ने थिए । जनादेश के थियो ? कसैले सम्झाइ रहनुपर्ने विषय होइन । जनताले दिएको मतलाई जनादेश भनिन्छ । जनताले कसलाई मत दिएका थिए ? जनताले कुनै व्यक्तिलाई मत दिएका थिएनन् ? जनताले कम्युनिष्ट नेताहरुलाई मत दिएका थिए । जनताले के काम गर्नका लागि आदेश दिएका थिए ? जनताको आदेश के थियो भन्ने कुरा आफ्नै पार्टीको चुनावी घोषणापत्रमा हेरे पुग्छ ? चुनावी घोषणापत्रमा उल्लेखित विषयहरु नै जनादेश थियो । जनादेशको पालना गरियो कि गरिएन ? आत्मसमीक्षा जरुरी हुन्छ ।

मैले केही पहिले लेखेको थिए ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने संसदीय विकृतिको निरन्तरता हो जनताको बहुदलीय जनबाद’ देशमा जनताको बहुदलीय जनबाद (जबज) नामधारी संसदबादको नयाँ माला जपेर ठगी गर्ने कम्युनिष्ट आवरणको सरकार बन्यो ? समाजमा गुण्डागर्दी, अपहरण, अशुली र ज्यानमार्ने कृयाकलापमा चर्चा पाएका मात्र नभएर सजायसमेत भोगेका व्यक्तिहरु देखि लिएर विश्वको अर्वपतिसूचीमा नेपाली अर्वपतिका रुपमा कहलिएका व्यक्तिले समेत कम्युनिष्ट पार्टीको सांसद पद प्राप्त गरे । कुख्यात कर ठगी गर्ने व्यापारीदेखि तस्करी धन्दाहरुमा बदनाम भएका व्यक्तिहरुलाई कम्युनिष्ट पार्टीको झण्डा ओढाएर सम्मानित गरियो । के यही थियो जनादेश ?

जबजको नाममा सरकार चलाईरहेकाहरु कम्युनिष्ट आबरणका कम्युनिष्ट बिरोधीहरु हुन् भन्ने कुरा पनि मैले लेखेको थिए । बिप्लव नेतृत्वको नेकपाले माथिल्लै तहका नेता  हेमन्तप्रकाश ओली (कमरेड सुदर्शन) जस्ता राजनीतिक आस्थाका सच्चा जनपक्षीय देशभक्त कम्युनिष्ट नेता जेलभित्रै हृदयघात भएर अस्पतालको शैयामा बस्नुपर्ने अवस्था सृजना भएको छ । के यस्तै थियो जनादेश ? अहिले पनि विप्लव नेतृत्वको नेकपाका नेता र  कार्यकर्ताहरु सयौंको संख्यामा जेल जीवन बिताईरहेका छन् । कम्युनिष्टहरुलाई जेलमा कोच्नु भन्ने जनादेश थियो ? राजनीतिमा यो भन्दा लज्जाजनक अवस्था अरु के हुन सक्छ ? मदन भण्डारीका उत्तराधिकारी हौं भनेर दाबी गर्ने जबजबादीहरु मात्र हैन मुलुकले अबलम्बन गरेको संसदीय व्यवस्थाविरुद्ध हतियार उठाएको तत्कालीन विद्रोही नेकपा माओवादीका नेता कार्यकर्ताहरु सबैले आत्म समीक्षा गर्नुपर्ने बेला भएको छ । तपाईंहरुलाई जनादेश के थियो ?

माओवादीहरु पनि शान्तिप्रक्रियामा आएपछि दलाल संसदीय अभ्यासमै पतन भएका छन् । युद्ध लडेर मृत्युका निम्ति लामबद्ध भएका नेपाली जनतासमक्ष मत माग्न गएपछि मत दिएर पनि जनताले सत्तामा पु¥याएका हुन । जनताले हतियार बोक्दा पनि साम्राज्यबादसँग लड्ने आँट गरेका थिए । मत दिने बेला पनि आफ्ना नेताहरु साम्राज्यबादसँग लम्पसार पर्लान् भनेर सोचेका थिएन । अमेरिकाको शैन्य योजनासँग लम्पसार पर्नु भनेर जनादेश भएको हो ? भारतीय बिस्तारवादले अतिक्रमण गरेका नेपाली भूभागहरु फिर्तालिनु भनेर जनादेश भएको हो कि, भारतलाई आवश्यक पर्ने भूभागहरु बैधानिक रुपमै गुमाउने गरी सम्झौता गर्नु भनेर जनादेश भएको हो । जनादेश कस्तो भएको थियो ? जनादेश अनुरुप काम गरियो कि गरिएन ? आत्म समीक्षा गरौं कमरेडहरु !

बहुदलीय प्रजातन्त्रको पुनर्बहालीसँगै २०४८ सालमा भएको आम निर्वाचनपछि कांग्रसको अर्थनीतिले व्यवस्थाभित्रको विकृति विस्तारै मौलाउँदै गएको थियो । देशमा स्थापित उद्योगहरु निजीकरण गर्ने नाममा कौडीको मूल्यमा बेचेर देशलाई कंगाल बनाउने गन्तब्य कांग्रेसले लियो । कांग्रेसको गलत अर्थनीतिमा कम्युनिष्ट आवरणका जबजबादीहरु पनि मतियार बनेर देशलाई बर्बाद बनाउने काम गरे ।

गणतंत्रात्मक संसदीय ब्यवस्थामा सत्ता प्राप्ति र आर्थिक बन्दोबस्ती नै नेताहरुका महत्वपूर्ण आदर्श बन्न पुगे । देशका राष्ट्रिय महत्वका उद्योगहरु  कौडीको मूल्यमा विक्री गरेर विदेशी बंैकहरुमा ढुकूटी थुपार्ने प्रवृत्ति कम्युनिष्टहरुको आचरण होइन । यस्तो आचरणका विरुद्ध जनताको जनादेश हो । राजनीतिको परिभाषामा भ्रष्टाचार र अनियमितता र लूट बाहेक अरु कुनै कामले प्राथमिकता पाएन । सांसद्हरुले खुल्लमखुल्ला बेचिनका लागि आफ्नो मूल्य बढाबढ गर्ने कामलाई सांसदको आदर्श बनाईयो । कम्युनिष्ट आवरणमा रहेकाहरुले पनि यही कार्यशैलीलाई ‘परिमार्जित मार्क्सबाद’ भन्दै जनतामा भ्रम छर्ने काम गरे । यस्तै बिकृतिहरुका बिरुद्धमा प्रचण्डको नेतृत्वमा माओवादीले सशस्त्र जनयुद्ध गरेको होइन ? सत्र हजार नेपाली जनताले बलिदानी दिएको त्यो युद्धको परिणाम प्रचण्डलाई साम्राज्यबादका सामू लम्पसार पर्नको लागि अवश्य होइन । १० बर्षसम्म चलेको जनयुद्धमा जनताको लामबन्दी किन भयो ? कम्युनिष्ट शासन ब्यवस्थाका लागि मर्न तयार भएर जनताको अनौठो सहभागिता देखियो जनयुद्धमा । देश लगभग जनताको कब्जामा पुगिसकेकै अवस्थामा नेताहरुले क्रान्तिलाई बिसर्जन गरेर  साम्राज्यवादसँग लम्पसार परिरहेका छन् । के यस्तै थियो जनादेश ?

जनताका प्रतिनिधिहरुबाट संविधान लेख्ने भन्दै आप्रवाशीलाई नागरिकता दिने नीतिमा देशलाई फसाईयो । ४० लाख बिदेशीहरुलाई नेपाली नागरिकता दिलाएर सुरु गरिएको संबिधानसभाको चुनावमा नयाँ नेपालीहरु नै संविधान बनाउन आइपुगेपछि पुराना नेपालीहरु अर्थात सच्चा कम्युनिष्टहरु किनारा लाग्नु स्वाभाविकै हो । के यस्तै थियो जनादेश ?

जनताले दुईतिहाई निकटको बहुमत दिएर कम्युनिष्ट गठबन्धनलाई जिताएका थिए । दुई तिहाई बहुमतले संविधान पनि संशोधन गर्न सक्ने हैसियत राख्दथ्यो । संविधानको प्रस्तावनामै लेखिएको ‘गन्तव्य समाजवाद’ को लक्ष्यसम्म पुग्नका लागि संविधानमा आवश्यक पर्ने संशोधनहरु गर्न सकिने हैसियतमा कम्युनिष्टहरुले जनादेश पाएका थिए । जनादेशको पालन भयो ? एउटा धन्याढ्य कम्पनी (यती समूह) लाई पूर्व राजदरवारको सबै सम्पत्तिको मालिक बनाउने जनादेश प्राप्त भएको थियो ? कोरोना महामारीले जनता आक्रान्त भएका बेला औषधी आयात गर्ने नाममा राज्यको ढुकूटी दोहन गरेर विदेशी बंैकमा जम्मा गर्न जनादेश भएको हो ? यस्ता धेरै प्रश्नहरु छन्, जुन प्रश्नहरुले जनादेश विपरितका कामहरुलाई प्रस्ट्याउन सक्दछन् ।

बिदेशी शक्तिको स्वार्थलाई केन्द्रमा राखेर अराजनीतिक व्यक्तिहरुलाई सत्तामा निर्णायक हिस्सेदार बनाएर उनीहरुकै आदेशमा संबिधान लेखियो । यसरी लेखिएको संबिधानले देशको सर्वनाश गराईरहेको छ । जनतामा अशन्तुष्टि बढाएको छ र बिद्रोहको भावना जनतामा  जगाएको छ । संबिधानले देशको शासन प्रणालीमा केही फेरबदल ल्याएको जस्तो देखिए पनि जनतालाई सन्तुष्टि दिलाउन सकेको छैन । धर्म, जात र भूगोलमा जनतालाई बिभाजित गराएर बिदेशीहरुको क्रिडास्थलका रुपमा देशलाई बिकसित गराउने काम निर्णायक अवस्थामा पुगेको छ, एमसीसीको आवरणमा अमेरिकाको नेपालमोह त्यसैको एउटा भयानक डरलाग्दो रुप हो । टनकपुर सन्धिका बिरुद्धमा ८ घन्टासम्म लगातार संसदको रोष्ट्रम घेराउ गरेर देशभक्त नेताको परिचय बनाएका मदन भण्डारीले जबजबाट यस्ता राष्ट्रघाती दुस्परिणामको परिकल्पना अबश्य गरेका थिएनन् ! जबजले गराएको एमाले पार्टीको पतन मदन भण्डारीलाई अवश्य पनि स्वीकार्य हुने थिएन । जबज असफल राजनीति हो, यही असफल राजनीतिक गन्तव्यले साम्राज्यवादसँग लम्पसार गराइरहेको छ । यो जनादेश होइन् । जनादेश बुझ्न सकेका भए जनादेशमाथि परमादेशको बज्रप्रहार हुँदा जनताले सडकमा आगो बालेर आफ्नो आदेशको पालन गराएरै छोड्ने थिए । जनादेशको मर्म नबुझेपछि, जनादेशको भावना  नबुझेपछि साम्राज्यबादका आदेश पालन हुन थालेपछि,  परमादेशको बज्रप्रहार स्वाभाविक हो ! यस्तो प्रहार अपेक्षित नै थियो, आगे सबैलाई चेतना भया !  जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here