काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) उपेन्द्र यादव-बाबुराम भट्टराईपक्षका नेता महेन्द्र राय यादवले महन्थ ठाकुर पक्षले जसपा विवादका विषयमा सर्वोच्च अदालतमा रिट हाल्नु पराजित मनसिकताको उपज भएको जनाएका छन्।
‘नागरिकतासहित निर्वाचन आयोग आउन कार्यकारिणी सदस्यलाई भनिएको छ’ नेपाल लाइभसँग कुरा गर्दै यादवले भने, ‘त्यो निर्वाचन आयोगको फैसलालाई प्रभाव पार्नेगरी सर्वोच्चमा मुद्दा हालियो। निर्वाचन आयोगबाट आफू अनुकुल फैसला नआउने देखिएपछि पराजित मानसिकताले मुद्दा हालियो।’
निर्वाचन आयोगले फैसला दिएमा सर्वोच्च अदालत जानु स्वभाविकै भएपनि फैसलाको नआउँदै रिट हाल्नुलाई उचित मान्न नसकिने यादवले जनाए ।
आयोगले कार्यकारिणी समिति सदस्यलाई परिचय पत्रको सक्कल प्रतिसहित उपस्थित हुन आदेश गरेको भोलिपल्ट अध्यक्ष महन्थ ठाकुरले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। आयोगले बिहीबार सुनाएको आदेशानुसार पार्टी आधिकारिकताको निर्णय आफ्नो पक्षमा नआउने देखिएपछि ठाकुर सर्वोच्च अदालत पुगेका हुन्।















