काठमाडौं । एमाले महासचिव ईश्वर पोखरेलले हाँडीगाउँ स्थित पुनःनिर्मित भिमसेन मन्दिरको उद्घाटन गरेका छन् । बागमती प्रदेश सरकार, पूर्वाधार विकास साझेदारी कार्यक्रम र स्थानीय जनसहभागितामा निर्मित मन्दिरको उद्घाटन गर्दै पोखरेलले हाँडिगाउँलाई ऐतिहासिक थलोको रूपमा विकास गर्नेगरी सरकारले काम गरिरहेको जनाए ।
विगतमा लिच्छविकालीन समयको राजधानी थलोको रूपमा रहेको हाँडीगाउँ क्षेत्रलाई विकास गर्नेगरी आफुले अठोट गरेको स्मरण गर्दै पोखरेलले इतिहासको केन्द्रभागको रूपमा दुनियाँलाई चिनाउने गरी यस क्षेत्रको विकास गर्ने अध्ययन र उत्खनन्को काम भैरहेको बताए । पुरातात्व विभागबाट यस क्षेत्रको अध्ययनको काम जारी रहेको जनाउँदैं पोखरेलले तत्पश्चात यस क्षेत्रलाई कसरी विकास गर्ने भन्ने बारेमा टुँगोमा पुग्ने जनाउनु भयाे ।
‘यो कुनै एउटा विषयमा मात्रै अध्ययन गर्ने कुरा होइन, धेरै कुरा ख्याल गरेर अध्ययनको काम भैरहेको छ, तत्पश्चात सरकारको मातहतमा रहने गरी विशेष किसिमको समिति बनाएर यस्को संरक्षण, उत्खनन् र विकासको काम गर्ने हाम्रो योजना छ,’उनले भने ।


















