काठमाडौं । सत्ता समीकरणका दौरानमा दुई समूहमा विभाजन भएको जनता समाजवादी पार्टी (जसपा) ले आज निर्वाचन आयोगबाट आधिकारिकता पाउँदैछ ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपाको विवाद निरुपणका लागि आयोगले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपिसहित बिहान ११ बजे आयोगमा उपस्थिन हुन आग्रह गरेको जानकारी दिनुभयो ।
उपेन्द्र यादव पक्षमा कार्यकारिणी समितिका बहुमत सदस्य भएको दाबी गरिएकाले सोही पक्षले आधिकारिकता पाउने अनुमान गरिएको छ ।
जसपाका कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राइले पार्टी आधिकारिकता लगभग निश्चित भएको र आज कार्यकारिणी सदस्यले सनाखत गरेपछि टुङ्गो लाग्ने बताउनुभयो । जसपाको ५१ सदस्यीय कार्यकारिणी समिति छ । जसपा २०७७ असार २४ गते निर्वाचन आयोगमा दर्ता भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सत्ता साझेदारी गर्दा जसपा दुई समूहमा विभाजन भएको थियो ।
ठाकुर पक्ष सरकारमा सहभागी भएको थियो भने यादव पक्ष प्रतिपक्षमा उभिएको थियो । दुवै पक्षले पार्टी आधिकारिकताका लागि दाबी गर्दै आयोगमा गएका थिए । पछिल्लो पटक वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा दुवै पक्षले पक्षमा मतदान गर्ने निर्णय गरेका थिए ।
यादव पक्षले सरकारमा सहभागिता जनाउने निश्चित भइसकेको छ । यसैबीच आयोगको निर्णयअघि अध्यक्ष ठाकुरले आधिकारिकता र पार्टी विभाजन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । उक्त रिटमाथि आइतबार सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गर्दै साउन १५ गते दुवै पक्षलाई छलफलका लागि बाेलाउने आदेश दिएको थियो ।


















