काठमाडौं । निषेधाज्ञा खुलेपछि उपत्यकामा बढ्दो कोरोना संक्रमणसँगै अस्पतालमा भर्ना हुने बिरामीको संख्या बढ्दै गएको अस्पतालहरूले जनाएका छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका अनुसार केही दिनयता दैनिक २० देखि २५ जना कोरोना संक्रमित बिरामी लक्षणसहित भर्ना हुन आएका छन्। अस्पतालमा आइतबार भर्ना भएका बिरामीको संख्या १ सय २६ पुगिसकेको छ।
अस्पतालमा कोभिड वार्डको बिरामी भर्ना क्षमता १ सय ४५ मात्र छ। बिरामी बढेै जान थालेपछि अस्पतालले कोभिड वार्डमा भर्ना थप गर्दै जाने तयारी गरिरहेको कोभिड १९ उपचार संयोजक तथा उपनिर्देशक डा सन्तकुमार दासले बताए। एक महिनाअघि भर्ना हुनेको संख्या घटेपछि अस्पतालले कोभिड बाहेकका बिरामीको उपचारमा पनि प्राथमिकता बढाउँदै गएको थियो।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार २ सय ११ जना कोभिड संक्रमित भर्ना भएका छन्। तीमध्येमा २५ जना आइसियुमा र १ सय ८० जना हाइडिपेन्डेन्सी वार्डमा भर्ना भएका हुन्। दुई सातादेखि भर्ना हुन सुरु भएका बिरामी केही दिनदेखि दैनिक २५ देखि ३५ जनाको दरले भर्ना भइरहेको अस्पतालका निर्देशक डा रवी शाक्यले जानकारी दिए। उनी भन्छन्, ‘निषेधाज्ञा खुकुलो भएपछि संक्रमण बढेको हो।’

















