काठमाडौं । आइतवार बिहान हेलम्बुको भेम्राथाङबाट आएको भीषण बाढीका कारण सडक र पक्की पुल बगाउँदा मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रसँग सम्पर्कविच्छेद भएको छ । बाढीले हेलम्बुस्थित चनौटेको रातो पुल बगाएको छ । मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलसम्म जाने यो पुल बगाएपछि अब आयोजनाको कामसमेत ढिला हुने भएको छ ।
मेलम्ची ७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका अधिकांश वडा जोड्ने एक मात्र विकल्पको रूपमा रहेको यो पुल बगाएपछि सवारीसाधनका साथै मानिसको आवतजावत बन्द भएको छ ।
मेलम्ची खानेपानी आयोजनाको प्राविधिक टोली सडक सञ्चालनको सम्भावना अध्ययन गर्न खटिएको छ । तर सडक र पुल बगाएकाले तत्काल यातायात सञ्चालन गर्न नसकिने आयोजनाका रेसिडेन्ट इन्जिनियर प्रह्लाद बानियाँले बताए ।
हेडवर्क्स प्रवेश गर्ने पहिलो बिन्दुको चनौटे पुल नै बगाएकाले सडकमार्ग हुँदै आउने पुनर्निर्माणको सामग्री ल्याउन नसकिने उनले बताए । ‘चनौटेबाट मुख्य प्रवेशमार्ग अम्बाथानसम्मको ८ किलोमिटर सडक र पुलको संरचना ध्वस्त भएको छ,’ पन्तले भने, ‘आयोजनाको मुख्य संरचनासम्म जाने बाटो नै नभएकाले पुनर्निर्माण कहिलेदेखि शुरू हुन्छ, यकिन छैन ।’
आइतवारको बाढीले सो क्षेत्रमा विद्युत् आपूर्ति बन्द छ । आर्थिक अभियान दैनिकबाट

















