काठमाडौं । यही श्रावण २२ गते एमसीसी खारेज अभियान, नेपाल २०७६ को आयोजनामा एमसीसी खारेजीका लागि संयुक्त संघर्ष समिति निर्माणार्थ काठमाडौंको हात्तीसारस्थित नेपाल हाउसमा एक बृहद भेला भयो ! भेलामा विभिन्न राजनीतिक दल, सामाजिक-साहित्यिक संघसंस्था र नागरिक समाज लगायतका पाँच दर्जनबढी एमसीसी खारेज अभियान चलाइ रहनुभएका विभिन्न संगठनहरुका संस्थागत प्रतिनिधि व्यक्तिहरु र केही स्वतन्त्र व्यक्तित्वहरुको प्रत्यक्ष उपस्तिथि रहेको थियो ।
कार्यक्रममा देशका विभिन्न जिल्ला र विदेसका विभिन्न शहरहरुबाट तत्काल प्रत्यक्ष उपस्थित हुन नसक्नु भएका तीन दर्जन जति संघसंस्था र तिनका प्रतिनिधिहरुले भेलामा सहभागी हुन नसके पनि संयुक्त संघर्ष समितिमा आवद्ध हुन चाहेको कुरा विभिन्न माध्यमबाट पठाउनु भएकोले उहाँहरु समेतको उपस्थिति मान्ने गरी हाललाई करिब १०० जनाजतिको एक वृहद् राष्ट्रिय भेला सुसम्पन्न भयो । MCC खारेज अभियानका संयोजक अभियन्ता नारायण शर्माको अध्यक्षता, नेपाल सर्वहारा कम्युनिष्ट पार्टी (माओवादी)की अध्यक्ष अभियन्ता भावना विद्रोहीको संचालन र नागरिक आवाज नेपालका सदस्य अभियन्ता रवीन्द्र श्रेष्ठको स्वागत मन्तव्य तथा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य अभियन्ता लीलामणी पोख्रेलको प्रशिक्षणात्मक र सुझावमूलक मन्तव्य लगायत विभिन्न सहभागी अभियन्ताहरुका संक्षिप्त मन्तव्यसहित सम्पन्न सो भेलाले केही ऐतिहासिक महत्वका निर्णयहरु गरेको छ, जो यसप्रकार छन् :
१) भेलामा उपस्थित हुनु भएका र आजको भेलामा विविध कारणवश उपस्थित हुन नसक्नु भएका तर संयुक्त संघर्ष समितिमा आवद्ध हुन इच्छुकहरुलाई समेत समावेश गरी एउटा राष्ट्रिय परिषद बनाउने निर्णय गरियो ।
२. भेला आयोजक अभियानका संयोजक अभियन्ता नारायण शर्माले र जन समाजवादी पार्टीका उपमहासचिव अभियन्ता डम्बरबिक्रम कार्कीले भेलामा क्रमशः प्रस्तुत गर्नु भएका वैचारिक आधारपत्र र आचार संहितामाथि छलफल हुँदा प्राप्त उपयुक्त र रचनात्मक सुझावलाई समेटेर परिमार्जन गर्ने गरी पारित गरियो ।
३) समिति स्वयंले आवश्यकता र सम्भाव्यता अनुसार सदस्य संख्या थपघट गर्ने गरी हाललाई नारायण शर्माको संयोजकत्वमा नेकपाका सहसंयोजक अभियन्ता लोक नारायण सुवेदी, वरिष्ठ नागरिक अगुवा बुद्धिजीवी अभियन्ता श्याम श्रेष्ठ, नेपाली राष्ट्रवादी अभियन्ता साध्यबहादुर भण्डारीलगायतका व्यक्तित्वहरु रहनुभएको १५ सदस्यीय संयुक्त संघर्ष समितिको गठन गरियो ।
४) वरिष्ठ वामपन्थी व्यक्तित्व अभियन्ताहरु घनश्याम शर्मा पौड्याल, लोककृष्ण भट्टराई र कतिपय राजनीतिक दलका नेता अभियन्ताहरु रहने गरी एक सल्लाहकार समिती निर्माण गर्ने निर्णय गरियो ।
५) पारित आधारपत्र र आचारसंहिताको नीति र मान्यताअन्तर्गत रहेर संघर्ष समितिलाई अन्य आवश्यक नीतिगत, सांगठनिक र कार्यक्रमिक विषयमा निर्णय र कार्यान्वयन गर्ने-गराउने अधिकार दिने निर्णय गरियो ।
६. संयुक्त संघर्ष समितिको आगामी बैठक शीघ्रातिशीघ्र बसी अन्य आवस्यक काम- कार्वाहीहरु अगाडि बढाउने पनि निर्णय गरियो ।
७) अन्तमा, सरकारबाट एमसीसी सम्झौता सदनमा प्रस्तुत र पारित गर्ने खतरा रहेको अवस्थामा सरकारमै रहेको पार्टीका नेता भएर पनि एमसीसी सम्झौता राष्ट्रघाती भएकाले यसको खारेजीको लागि आफू प्रतिबद्ध भएको र यसप्रकारको खारेजीको आन्दोलनलाई हरतरहले सहयोग गर्ने वचनबद्धता व्यक्त गर्नुभएका अभियन्ता लीलामणि पोख्रेललाई विशेष धन्यवाद दिंदै उपस्थित सबै अभियन्ता महानुभावहरु, छलफलमा सहभागी अभियन्ता महानुभावहरु, आयोजक अभियन्ताहरु र व्यवस्थापनमा खटिनु भएका अभियन्ता लगायत हलमा उपलब्ध सबैप्रति आभार प्रकट गर्दै भेलाका अध्यक्ष नारायण शर्माबाट भेला सुसम्पन्न भएको घोषणा गरियो ।


















