फोनिज मातृभाषा पत्रकारिता सम्मानका लागि छनोट भएका पत्रकारहरुको नाम सार्वजनिक

169

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले फोनिज अवार्ड र फोनिज मातृभाषा पत्रकारिता सम्मानका लागि छनोट भएका पत्रकारहरुको नाम सार्वजनिक गरेको छ। फोनिजको संघीय सचिवालयले उक्त नामावली सार्वजनिक गरेको हो।

फोनिजले हरेक वर्ष स्थापना दिवसको अवसरमा प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार (फोनिज अवार्ड)’ गत वर्ष कोरोना भाइरसको महामारीका कारण रोकिएकोमा दुवै वर्षका लागि विभिन्न विधामा आठ जना पत्रकार छनोट भएको जानकारी दिएको छ।

जसअनुसार फोनिज अवार्ड-२०७७ छापातर्फ गोरखापत्र दैनिकको शेर्पा भाषा पृष्ठ संयोजक आङदावा शेर्पा, रेडियोतर्फ जलजला एफएम रोल्पाका मौसम रोकामगर, टेलिभिजनतर्फ इन्डिजिनियस टेलिभिजनका कुमार यात्रु तामाङ र अनलाइनतर्फ स्वतन्त्र पत्रकार राजकुमार दिक्पाललाई प्रदान गर्ने निर्णय भएको फोनिजले जनाएको छ।

यस्तै फोनिज अवार्ड-२०७८ छापातर्फ कास्कीका स्वतन्त्र पत्रकार तिलक पुन, रेडियोतर्फ रेडियो नेपालकी रचना श्रेष्ठ, टेलिभिजनतर्फ झापाका इन्द्रजीत मुखिया र अनलाइनतर्फ झिल्को डटकमकी भवानी बराललाई प्रदान गरिने भएको छ।

फोनिजको संघीय समितिले यसै वर्षदेखि स्थापना गरेको ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान-२०७८’बाट कैलालीबाट प्रकाशित हुँदै आएको थारु भाषाको पत्रिका पहुरा दैनिक र काठमाडौंबाट प्रकाशित हुने लिम्बू भाषाको पत्रिका तान्छोपा मासिक संयुक्त रुपमा सम्मानित हुनेछन्।

फोनिज अवार्डको राशी जनही पुरस्कार २० हजार रुपैयाँ रहेको छ। यस्तै निज मातृभाषा पत्रकारिता सम्मानको राशी २० हजार रुपैयाँ रहेकोमा संयुक्त रुपमा प्रदान गरिने जनाएको छ।

फोनिज अवार्ड, फोनिज मातृभाषा पत्रकारिता सम्मान फोनिजको २२औं स्थापना दिवसको अवसरमा यही साउन २७ गते काठमाडौंमा हुने कार्यक्रममा वितरण गरिने जानकारी दिइएको छ। साथै, सोही अवसरमा फोनिज यूके शाखाले प्रदान गर्ने ‘फोनिज यूके पत्रकारिता सम्मान र पुरस्कार’ प्रदान गरिने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here