काठमाडौं । गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियान ४०० औँ हप्तामा प्रवेश गरेको छ । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि गुह्येश्वरीमाथिको नदी सफाइका लागि २०७० फागुन ३ गतेदेखि अभियान शुरु गरिएको थियो ।
नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायमै रहेकाले ४०० औँ हप्ता प्रवेश कार्यक्रम नदी किनारमा सफा गरेर मनाइएको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिनुभयो।
काठमाडौँ उपत्यकाको फोहर उठाएर लैजाने व्यवस्था नभएकाले प्लाष्टिकलगायत नकुहिने फोहोरलाई व्यवस्थापन गरिएको छ । कुहिने फोहर भने नदी किनारमा लगाइएको बगैँचाका लागि मल बनाउन उपयोग गरिएको उहाँले सुनाउनु भयो।
वाग्मती सफाइ महा अभियानलाई सफल बनाउन गुह्येश्वरीमाथिको सफाइको जिम्मेवारी यस क्षेत्रका विभिन्न संस्थाले लिएका छन् । यस क्षेत्रमा हाल वाग्मती सुन्दरता सरोकार मञ्चको नेतृत्वमा सफाइ हुने गरेको छ । यस क्षेत्रको सफाइमा अभियानकर्मी र स्थानीय तहका जनप्रतिनिधिको सक्रियता थियो ।
त्यसैगरी वाग्मती सफाइ महाअभियानको ४३० औँ हप्तामा गुह्येश्वरीस्थित नदी किनारमा सफाइ गरिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको नेतृत्वमा यस क्षेत्रमा सफाइ भएको हो ।
सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, सञ्चालक सदस्य डा।माला खरेल, काठमाडौँ महानगरपालिका वडा नं ९ का सदस्यद्वय टेकराज अधिकारी र सिर्जना भेटवाललगायत कर्मचारी तथा अभियानकर्मीको सक्रियता थियो । शङ्खमूल क्षेत्रमा अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा सफाइ गरिएको छ ।
महाअभियान शुरु भएपछि वाग्मतीसँगै यसका सहायक नदी सफाइ अभियान पनि जारी छ । रुद्रमती, विष्णुमतीको माथिल्लो र तल्लो भाग, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथको उत्तर र पश्चिमी खण्डमा पनि सफाइ गरिएको छ ।
महाअभियान शुरु भएपछि प्रत्येक हप्ता बिहान दुई घण्टा राष्ट्रका लागि स्वयं सेवा भन्ने नाराका साथ सफाइ अभियान चलिरहेको छ । चाडपर्व, हिउँद, वर्षा, जाडो, गर्मी, प्राकृतिक प्रकोपलगायत विपत्तिका बेलासमेत सफाइ अभियान जारी छ । हाल काठमाडौँ उपत्यकाका २५ स्थानमा सफाइ भइरहेको जनाइएको छ ।
महाअभियानबाट प्रभावित भएर उपत्यका बाहिरका मुख्य मुख्य शहर, नदी एवं सांस्कृतिक स्थलमा पनि सफाइ भइरहेको छ । काठमाडौँ उपत्यका बाहिर १०७ स्थानमा सफाइ भइरहेको जनाइएको छ ।
विसं २०७६ चैत ११ गतेपछि भने कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर भौतिक दूरी कायम गरी सीमित अभियानकर्मीकाबीच सफाइ भइरहेको छ ।
नदी किनारभन्दा टाढा निवास हुने अभियानकर्मीले भने निषेधाज्ञा र बन्दाबन्दीका बेला टोल, घर सफाइ अभियानसहित जनचेतना जागृत गर्दै आएका छन् ।

















