एजेन्सी । जलवायु परिवर्तनको वैज्ञानिक पक्षका सम्बन्धमा संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्ताहरुले अहिलेसम्मकै महत्वपूर्ण र चेतावनीसहितको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दैछन् ।
विश्वभरका अनुसन्धानकर्ताहरुको अध्ययनको एकीकृत प्रतिवेदन आउँदो सोमबार सार्वजनिक हुनेछ । सो प्रतिवेदनमा समुद्र, हिउँ तथा स्थल जलवायुमा भएको वा आउँदा दिनको अवस्थाबारे विस्तृत विवरण उल्लेख हुने अपेक्षा छ ।
इन्टरगभरमेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आइपीसीसी) ले सो प्रतिवेदन तयार पारेको हो । अनियन्त्रित डढेलो तथा विनाशकारी बाढीका कारण विश्वका विभिन्न देश प्रभावित भएको परिवेषमा जलवायु सम्बन्धी महत्वपूर्ण अध्ययनलाई निष्कर्ष दिन अनुसन्धानकर्ताहरु छलफलमा जुटेका थिए ।
आइपीसीसीले सन् २०१३ विश्वव्यापी रुपमा भइरहेको तापमान वृद्धिको अवस्थाका सम्बन्धमा विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक हुन लागेको हो । वैज्ञानिकहरु आफ्नो अध्ययनले पत्ता लगाएका कुराहरुको ‘लाइन बाइ लाइन’ अध्ययन गरेर एकीकृत प्रतिवेदन तयार पारेका हुन् ।
विश्वका १९५ देशका प्रतिनिधिहरु सहभागी भएर भर्च्युअल माध्यमबाट भएको छलफलपछि तयार निष्कर्षसहितको अध्ययन प्रतिवेदन सरकारहरुका लागि ‘वेक–अफ कल’ हुने जनाइएको छ ।
अनुसन्धानकर्ताहरुले यो छलफलबाट ४० पृष्ठ लामो अध्ययनको सारसंक्षेप सार्वजनिक गर्ने तयारी गरेका हुन् । सो सारसंक्षेपसहितको प्रतिवेदन आउँदो नोभेम्वरमा जलवायु परिवर्तन सम्बन्धी सम्मेलनका लागि ग्लासगोमा भेला हुने विश्वका नेताहरु तथा योजनाकारहरुका लागि निर्देशक बन्ने अपेक्षा छ ।
सोमबार सार्वजनिक हुने प्रतिवेदन छोटो भए पनि अहिलेसम्मकै गम्भीर चेतावनी युक्त हुने आँकलन गरिएको छ ।
पछिल्लो ३० वर्षमा विश्वभर तापमान वृद्धि चिन्ताजनक रुपमा भइरहेको छ। यस्तो अवस्थामा आइपीसीसी समस्याको वैज्ञानिक बुझाइलाई एकीकृत, प्रभाव मूल्यांकन तथा समाधानका विकल्पहरुको खोजी गर्ने महत्वपूर्ण माध्यम बनेको छ।

यो वर्षकाे प्रतिवेदन अमेरिका र क्यानडामा अत्यधिक गर्मी तथा जर्मनी, बेल्जियमसहित युरोपका देश तथा भारत, नेपाल, चीनसहितका एसियाली देशमा भारी वर्षा र बाढीका घटनाहरुको पृष्ठभूमिका सार्वजनिक हुँदैछ।
यी घटना हुनुमा मानवीय कारणले भएको तापमान वृद्धि कारक रहेको हुन सक्ने भन्दै विभिन्न क्षेत्रबाट प्रश्नहरु गरिएका छन्। प्रतिवेदनमा तापमान वृद्धिकाे तिताे यथार्थ र गम्भीर चेतावनी हुने छ ।
तस्बिरहरु : गेट्टी इमेज, राेयटर्स र थाेमस लाेनेस















