रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगल विजयी

90

काठमाडौं । विश्वकप फुटबलमा पोर्चुगलले विजयी सुरुवात गरेको छ। क्रिस्टियानो रोनाल्डोले रेकर्डेड गोल गरेको खेलमा पोर्चुगलले घानालाई ३-२ गोल अन्तरले पराजित गर्‍यो। समूह एच अन्तर्गतको आफ्नो पहिलो खेलमा पोर्चुगल र घानाबिच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा दुबै तर्फबाट गरी कुल ५ गोल भएको थियो।  पेनाल्टीमार्फत पोर्चुगलले ६५ औ मिनेटमा अग्रता बनायो।   स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले पेनाल्टी प्रहार गर्दै कीर्तिमानी गोल गरे। उनी लगातार पाँचौ विश्वकपमा गोल गर्ने  खेलाडी समेत बने। साथै रोनाल्डो सर्वाधिक पाको उमेरमा गोल गर्ने दोस्रो खेलाडी बने।  रोनाल्डोले ३७ वर्ष २ सय ९२ दिनमा गोल गरेका थिए। उनी भन्दा पाको उमेरमा विश्वकपमा गोल गर्ने क्यामरुनका रोजर मिला रहेका छन्।

उनले १९९४ मा ४२ वर्ष ३९ दिनमा गोल गर्दै सर्वाधिक पाको उमेरमा गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका थिए। मिलाको रेकर्ड ब्रेक गर्न भने कुनैपनि खेलाडीका लागि सहज छैन्। रोनाल्डोले यदि अर्को विश्वकप खेल्ने हो भने पनि उनी ४१ वर्षका मात्रै हुने छन्।   रोनाल्डो युरोपियन टिमका तर्फबाट भने सर्वाधिक पाको खेलाडी बने। यसअघि स्विडेनका गुनर ग्रिनले १९५८ मा ३७ वर्ष २ सय ३६ दिनमा गोल गर्दै सर्वाधिक पाको उमेरमा गोल गर्ने कीर्तिमान बनाएका थिए।   तर रोनाल्डोले पेनाल्टीमा गोल गरेको केही समयमै घानाले बराबरी गोल फर्कायो।

उसका लागि कप्तान एन्ड्री आएउले ७२ औ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। तर उक्त बराबरी गोललाई जोगाउन घाना असफल भयो।   जोआओ फेलिक्सले गोल गर्दै पोर्चुगललाई २-१ को अवस्थामा पुर्‍याए। पुन अग्रता फराकिलो बनाउने क्रममा पोर्चुगलका लागि राफेल लियोले तेस्रो गोल गर्दै खेल ३-१ को अवस्थामा ल्याए।  तर खेलमा फर्कने आस कायम राख्ने क्रममा घानाले ८८ औ मिनेटमा दोस्रो गोल गर्‍यो। ओस्मान बुकारीले गोल गर्दै खेल ३-२ को अवस्थामा ल्याए। तर त्यसपछि दुबै तर्फबाट थप गोल हुन नसक्दा पोर्चुगल ३-२ को रोमाञ्चक जित निकाल्न सफल भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here