हरेक निकायका क्रियाकलापलाई पारदर्शी बनाउन माग

82

काठमाडौंं । राष्ट्रिय सभा सदस्य (सांसद्) खिमलाल देवकोटाले हरेक निकायका क्रियाकलापलाई पारदर्शी बनाउन माग गरेका छन् ।

मन्त्री र सचिवहरूले गुप्त कोठाभित्र गर्ने कामकारबाहीलाई पनि सीसी क्यामेराबाट कोठाबाहिर देखाउनुपर्ने सांसद देवकोटाको माग छ ।

आइतवार राष्ट्रिय सभाको बैठकमा बोल्दै देवकोटाले गुप्त कोठामा बसेर गरेको शासनले अपेक्षित उपलब्धि नदिएको टिप्पणी गरे । ‘एउटा काम यो सरकारले गरोस् । हाम्रै अध्यक्ष, संसद् सचिवालयले पनि लागू गरे हुन्छ ।

हरेक मन्त्रालयको मन्त्री र सचिवले भित्र गुप्त कोठामा बसेर गरेका काम कारबाहीको बारेमा कोठाबाहिर पनि देखिने गरी सीसी क्यामेरा राखियोस्,’ उनले भने ‘गुप्त कोठामा बसेर गरेको शासनले अपेक्षित उपलब्धि दिएन ।’

गुप्त कोठाबाट गरिने कामकारबाहीले शासकहरू अपारदर्शी भएको पनि देवकोटाले टिप्पणी गरे । ‘शासकहरू पारदर्शी भएनन् । गुप्त कोठाको अनुहार जनताले देख्न पाउनुपर्छ । पारदर्शी मात्रै भएको भए राष्ट्रपति कार्यालयले रातारात कागजहरू मिलाएर राति २ बजे संसद् विघटन गर्ने हिम्मत गर्ने थिएन,’ देवकोटाले भने ।

शासन व्यवस्था परिवर्तन भए पनि जनताले सेवा नपाइरहेको विषयमा समीक्षा गर्नुपर्ने सांसद देवकोटाको भनाइ छ । सांसद देवकोटाले सीसी क्यामेराले धेरै कुरा रोक्ने दाबी गरे । यो विधि संघदेखि हरेक तहका कार्यालयमा लागू गरिनुपर्ने देवकोटाको भाग छ । आर्थिक अभियान दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here