२०७५ सालको जेठमा एकीकृत भएको नेकपा डबल अदालतको फैसलाबाट विघटित भएको छ । हुन त उसै पनि पार्टी एक रहन्छ कि रहन्न भन्ने संशय उत्पन्न भएकै थियो । एकताका सूत्रधार मानिएका दुई अध्यक्ष दुईतिर मुख फर्काएर बस्ने स्थितिमा पुगेको थिए । कमसेकम जिल्ला तहसम्म पार्टी दुई चिरा परिसकेको थियो । पार्टी एक रहने सम्भावना निकै क्षीण भैसकेको थियो । तैपनि नेतृत्वमा मेलमिलाप हुदाँ तलका चिरा र धाँजा स्वतः टालिने थिए । हिजोको एकता भावनात्मक थिएन । प्राविधिक मात्र थियो । विचारको होइन, सांगठनिक एकता मात्र भएको थियो । एकता नितान्त औपचारिक र प्राविधिक मात्र थियो । दुई अध्यक्षको मन मिल्दा मिलेको पार्टी मन फाट्दा टुक्रिनु स्वाभाविक थियो । भावनात्मक एकता विकसित नहुँदै फेरि लथालिङ्गको स्थिति उत्पन्न भयो । पूर्व एमाले व्युँझाउनुपर्ने आवाज निकै चर्को भैसकेको थियो । जवजवादीहरु एक ठाउँमा उभिनुपर्छ भन्ने कुरा तलदेखि माथिसम्मै मुखर थियो । हो, त्यो आवाज शसक्त हुन सकेको थिएन । अपेक्षाकृति निकै झिनो थियो । अल्पमतमा थियो । अदालतले पुराना दुबै पार्टीहरुको अलग हैसियत पुनःर्जिवित गरिदियो । दुई पार्टीबिचको एकता भाँड्नेगरी अदालतले फैसला दिने चेष्टा सायद संसारमा कहीँ पनि यसअघि भएको थिएन होला । विश्वमै नेपालले त्यो पनि एउटा विलकुलै नयाँ उदाहरण स्थापित ग¥यो ।
पार्टी विभाजनको परिस्थिति परिपक्क नहुँदै आएको अदालतको फैसलाले विभाजनलाई सहज बनाएको मात्रै होइन, अनिवार्य बनायो । नेता कार्यकर्ताहरुको मन विभाजित भैसकेकै थियो । एकीकृत पार्टी विभाजनमा दीपावली मनाउने उत्साह त्यसै आएको होइन । अब वाध्यतावश नेता कार्यकर्ताहरु आआफ्ना घर फर्कलान् । कैयौंले आफूलाई जता सहज लाग्छ उतै साइनो जोड्लान् । स्थायी बसोबास गर्ने कोसिस गर्लान् । एउटा पक्ष पार्टी पुनः एकीकरण अभियानलाई निरन्तरता दिने वाचा गर्दै छुट्टिभिन्न भएको छ । त्यस्तो अभियानले कति सार्थकता पाउला भन्ने कुरा अहिलै अनुमान गर्नु हतारो हुनेछ । त्यो सम्भावना भविष्यकै जिम्मा छो्ड्नु उचित होला । तत्काल त्यस्तो सम्भावना देखिदैन । किनकि अर्को पक्षले पार्टी एकताको आवश्यकता देख्दैन । ताली एक हातले बज्दैन । पार्टी होइन, नीति सिद्धान्त पनि होइन, चुनाव चिन्ह, नेता र जबजको भजनलाई महत्वदिने पंक्तिको बाहुल्यता रहेको जमात एकातिर बहुमतमा रहने छ । त्यसैले पुनः एकताको पक्षमा रहेको शक्ति अल्पमतमै रहने छ । मरिचझै चाउरिन विवश हुनेछ । कमसेकम वर्तमान नेतृत्वको कमानमा एमाले रहँदासम्म एकीकरणको चर्चा चल्ने छैन ।
स्वर्गीय मनमोहन अधिकारीको नेतृत्वको सरकारले जनतालाई लगाएको मोहनी उत्रिसकेको थिएन । त्यसैले भिन्न भिन्न पार्टीमा विभाजित जनमतले कम्युनिष्टहरु एकै ठाउँमा उभिँदा सरकार जनपक्षीय हुने छ भन्ने विश्वास राख्थ्यो । नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच एकता हुने कुरो मात्र सुन्दा ती पार्टीका कार्यकर्ताभन्दा बढी आम वाममतदाताहरुलाई खुसी र उत्साहित बनाएको थियो । एकीकृत पार्टीले अधिकारीको विरासत धान्ने कल्पनामा जनता रमाएका थिए । जनमत उर्लिएर कम्युनिष्टको पक्षमा पोखिुनको कारण त्यही थियो । यद्यपि खडगप्रसाद ओली नेतृत्वको सरकारले जनताको त्यो अपेक्षा पूरा गर्न सक्तैन भन्ने स्पष्ट भैसकेको थियो । खडगप्रसाद ओली मनमोहन हुन सक्तैनन् भन्ने तितो अनुभूति गरिसकेको भए पनि नेता सुध्रिएलान् अथवा वर्तमान नेतृत्व विस्थापित भएर नयाँ जनमुखी कार्यक्रम सहितको नयाँ नेतृत्व स्थापित होला भन्ने आशा मारिसकेको थिएन । नेकपाको सम्भावित विभाजनमा ओलीपक्षीय पार्टीपंक्ति जति उत्साहित थियो, त्यस्तो उत्साह मतदातामा थिएन । समर्थक शुभेच्छुकहरुमा थिएन । सरकारको अकर्मण्यताबाट उत्पन्न असन्तुष्टि सरकारप्रति थियो । नेतृत्वप्रति थियो, पार्टीप्रति थिएन । पार्टी विभाजनले नेपाली जनताको उत्साहमा चिसो पानी खन्याइदिएको छ ।
बहुदलीय व्यवस्थामा जनभावनाको प्रतिनिधित्व गर्नेगरी राजनीतिक दलहरु निर्माण र गठन भएका हुदैनन् । भिन्न नीति, सिद्धान्त, आदर्श, कार्यक्रम र दर्शनका आधारमा पार्टीहरु निर्माण विनिर्माण हुन्छन् । मै्रदानमा हाजिर दलहरुमध्येको कुनै एउटालाई रोज्नु जनताको नियति रहन्छ । त्यसैले जनता के चाहन्छन् भन्ने कुराले राजनीतिक दलको निर्माण विनिर्माणमा कुनै अर्थ राख्दैन । न हिजो जनचाहनाको सम्मान गर्न दुई पार्टी एकीकृत भएका थिए न आज जनताका कारणले दुई कित्तामा विभाजित भएका हुन् । दुई पार्टीलाई एकीकृत गराउने कारण नितान्त सत्ता स्वार्थ थियो । एक्ला एक्लै लडेर सत्ता हस्तगत गर्न सकिदैन भन्ने तथ्यबोधले दुई दललाई एक ठाउँमा उभ्याएको थियो । त्यही स्वार्थंले फेरि भोली जुटायो भने पनि आश्चर्य नमान्दा हुन्छ । यति धेरै कटुताका बिच एमाले र माओवादी केन्द्रको संयुक्त सरकारले बाँकी अवधि निरन्तरता पायो भने पनि अनौठो मानिने छैन । सत्ताले रिस राग मेटाउँदो रहेछ । नीति सिद्धान्त र दर्शन ओझेलमा पर्दो रहेछ । त्यसको सम्भावना पुरै समाप्त भयो र फुटेको हाँडी फेरि जोडिदैन भन्न सकिन्न ।
कानुनतः नेकपा डबल विसर्जित भयो । पार्टी विसर्जित भए पनि व्यवहार आपसमा जेलिएको छ । कैयौं स्वार्थहरुले दुईतिर मुख फर्काएरै भए पनि सहकार्य गर्नुपर्ने वाध्यता होला । त्यसैले तत्कालीन नेकपाको माधव–प्रचण्ड पक्षका दुबै खेमाले पार्टी एकीकरणको प्रयत्नलाई जारी राख्नेगरी हार्दिकतापूर्र्वक विदा लिएको छ । त्यस अर्थमा यतिखेर विभाजित भएका दुई फक्लेटालाई पुनः जोड्ने प्रयत्न हुने नै छ । तर अभ्यासले भने त्यस्तो प्रयत्नले झाँतोको दुई चक्कीझै सावुत जोडिन दिँदो रहेनछ भन्ने देखाएको छ । दुई पार्टी मिल्दा केही चोइटाहरु उछिट्टिँदा रहेछन् । त्यसैमा पनि पार्टी एकीकरण त्यो बेला मात्र सम्भव हुनेछ जतिबेला एमालेमा ओलीपक्ष कमजोर हुनेछ । ओलीपक्ष बलियो रहँदासम्म दुई पार्टीको सहज एकीकरण सम्भव रहने छैन ।
वाम पार्टीहरुबिचको एकीकरण र धु्रवीकरणको दोश्रो प्रयत्न पनि चलायमान हुने सम्भावना उत्तिकै प्रबल छ । पूर्व माओवादीबाट चोइटिएका घटकहरुलाई एक ठाउँमा गोलबन्द गर्ने प्रयत्न चल्ने छ । पार्टी विभाजनबाट त्यो पार्टीका सबै चोइटाहरुमध्ये कसैको हित भएको छैन । कसैले आशातीत सफलता पाएका छैनन् । सबैको घनघोर प्रयत्न जसोतसो अस्तित्व धान्नेमै सीमित छ । ती सबै घटकहरु विस्तारै विस्तारै खिइदै दुब्लाउँदै गएर समाप्त हुने दिशातिर उन्मुख छन् । नेतृत्वको अहमले त्यो वास्तविकता स्वीकार गर्न नसके पनि सबैको हालत दयनीय हुदै गएको छ । पुरानै बाटो समातेर हिडेको र सबभन्दा सशक्त मानिएको विप्लव गृुट ओलीको जस्तो वदनाम सत्तासमक्ष अत्मसमर्पण गर्नुपर्ने स्थितिमा त्यसै पुगेको होइन । अस्तित्व रक्षाको संकटले घोर दक्षिणपन्थसँग हात मिलाउनु परेको हो । बाँकी घटकहरुमध्ये नयाँ विचारको नाममा वैज्ञानिक समाजवादीका नेता आहुती चर्चामा त छन् तर विचार र संगठन फरक कुरा हुन् । विचार असल हुदैमा संगठन आफै बन्दैन । वैचारिक नेता भनिएका मोहन वैद्यको हालत मोहनविक्रम सिंहको भन्दा पनि दयनीय बनेको छ । माओवादीका पूर्वनेताहरु सबैले इमान्दारीपूर्र्वक आत्मसमीक्षा गर्ने हो भने पूर्व माओवादी व्युँझन पनि सक्छ । एमाले–माओवादी केन्द्र बिचको एकीकरणभन्दा पूर्वमाओावदीहरु बिचको एकता त्यस अर्थमा निकै नजिक र सरल पनि देखिन्छ ।
नीतिगत रुपमा काँग्रेसको अनुशरण गरेर कम्युनिष्ट पार्टी दीर्घजीवि हुदैन भन्ने कुरा पश्चिम बँगालको कम्युनष्टि पार्टीले भोगेको नियतिले स्पष्ट गरेको छ । मदन भण्डारीको एमालेले समातेको बाटो त्यही थियो । ओली एमालेको नेतृत्वको एमालेले दक्षिणपन्थको यात्रामा काँग्रेसलाई उछिनी सकेको छ । काँग्रेस जस्तो त काँग्रेस नै छ । त्यो भन्दा भिन्न हुनु आवश्यक छ । त्यही तथ्यबोधले ओलीपन्थले भारतीय जनता पार्टीलाई आदर्श मानेर हिँड्ने कोसिस गर्न थालेको हो । त्यसैले नेपालको सन्दर्भमा एमालेले पुरानो काँग्रेसलाई विस्थापित गर्ने सम्भावना छैन । ओली पन्थले विस्थापित गर्ने दक्षिण पनथलाई हो । दक्षिण पन्थ पनि विशेष परिस्थितिमा सत्तामा पुग्ने गरेका उदाहरण विश्वराजनीतिमा देखिन्छ तर त्यस्तो सत्ता दीर्घ भएको उदाहरण कतै देखिदैन ।
नेपाली समाजको चरित्र वामपन्थमैत्री रहँदै आएको छ । विपक्षमा जसले जति फलाके पनि आगामी कैयौं दशक वामपन्थी राजनीतिका लागि नेपाल उर्बर रहनेछ । अर्थात ओली एमालेको आयु दक्षिणपन्थमा पुगेर विसर्जित भए पनि वामपन्थको आधारभूमि यथावत रहेने छ । त्यसैले यतिबेला पूर्व माओवादीहरुका छितरिएका घटकहरु एकठाउँमा गोलबन्द हुने र उत्तर दक्षिण फर्केका आफ्ना दृष्टिकोणहरुलाई सन्तुलित गर्न सक्ने हो भने ओली नेतृत्वको एमालेको अवशानपछि बाँकी रहेको वामपन्थी समूह माओवादीसँग मिसिन आउने छ । त्यसका निमित्त पूर्वमाओवाीदका पूर्वनेताहरुले सर्वप्रथम आपसी वैमनस्य, तुष र इगो परित्याग गर्नुपर्ने हुनेछ । देश, समाज र वामपन्थी आन्दोलनका लागि आफूलाई समर्पित गर्ने हिम्मत र सुझबुझ देखाउन सकेनन् भने समयले उनीहरुलाई असान्दर्भिक बनाउने छ । त्यसको लक्षण २०७१ यताको घटनावलीलाई विवेकको तराजुमा राखेर हेर्नसक्दा स्पष्ट दृष्टिगोचर हुनेछ । ९ज्ञज्ञ मार्च द्दण्द्दज्ञ को जनधारणा साप्ताहिकमा प्रकाशित यो लेख अहिले पनि त्यत्तिकै सान्दर्भिक लागेर पुनः प्रकाशन गरिएको छ(सं। ०


















