-प्रीति रमण
एमाले पार्टीको नेतृत्व लामो समयदेखि गर्दै आएका माधव नेपाल र झलनाथ खनालले ओलीको डाह गरदा गर्दै एमाले पार्टीलाई समाप्त गरेका छन् । एमाले पार्टी अब सत्तामा पुग्ने आशा नगरे पनि हुने भएको छ । कुनै शैद्धान्तिक र बैचारिक आधार र कारण बिना आन्तरिक कलहको भुंग्रोमा परेको एमालेले जनाधार गुमाएर नेपाली कांग्रेसको पोल्टामा सबै सुम्पिएको छ ।
केन्द्रमा शक्ति गुमाउँदै गएको यो पार्टीले प्रदेशमा पनि सरकार गुमाएको छ र कांग्रेसलाई नै भित्र्याएको छ । केन्द्रमा एमाले अध्यक्ष ओलीलाई टिकाउन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रयास पनि बिफल भएको छ । समग्रमा एमाले नेतृत्वको झगडाले जसपालाई सबैभन्दा बढि क्षति पुगेको छ । यो पार्टी बिभाजित भएको छ । यस्को कारण के हो भन्ने कुरा बिस्तारै खुल्ला, तर नेताहरुले जनतालाई चित्त बुझाउने आधार छैन ।
पछिल्लो पटक विकसित राजनीतिक परिदृश्यले जसपा र नेकपा एमालेको राजनीति ओरालो लाग्दै गएको देखाउँछ। वास्तवमा दुईतिहाई निकट पुगेको एमालेका लागि तत्कालका लागि यो क्षति ठूलो हो, तर जसपाको आशा लाग्दो भबिष्य अन्धकार देखिएको छ, अझै पनि समीक्षा गरेर गल्तीहरुलाई सच्याएर अगाडि बढ्न सक्ने हो भने जसपालाई अवसर गुमेको छैन ।
ओलीले संवैधानिक व्यवस्था, कानुनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यहरूमाथि हमला गरेको निष्कर्ष निकाल्दै त्यसकाविरुद्ध कांग्रेस सभापति शेर बहादुर देउवासँग गठबन्धन गरेर ओली बिरोधी एमाले नेताहरु खनाल, नेपाल सहितको शक्ति कांग्रेसको बैशाखी बन्न पुगेको छ । जताततै एमालेको नेतृत्वप्रति जनआक्रोश बढेको छ । यो अवस्थाबीच चुनावमा जाँदा भने कांग्रेसले नै राम्रो बहुमत पाउने निश्चित आंकलन गर्न सकिन्छ । एमाले फुटेपछि कांग्रेसले सरकार निर्माण गर्ने अवशर पाएको र एमाले पंक्तिले फूटको पीडा अनुभव गरिसकेको छ ।
केपी ओलीलाई पार्टी भित्रबाट असहयोग भएकै कारणबाट उन्ले जनतामा बाँडेका आश्वासनहरु कार्यान्वयन समेत गर्न नपाएको गुनासो ओलीबाट आईरहेको छ । ओलीको गुनासोलाई गलत भन्ने ठाउँ छैन । ओलीलाई राष्ट्रियताको सवालमा बिचलित भएको आरोप लगाउने आधारहरु पछिल्लो समयमा प्रशस्त छन् । तर छिमेकी देशसँगका बिबादका बिबिध बिषयहरु मध्ये महत्वपूर्ण बिषयका रुपमा रहेको सिमा बिबाद नै हो ।सिमा बिबादका सवालमा ओलीले लिएका अडानहरु वास्तवमै ऐतिहासिक छन् । सरकारको नेतृत्व गरेका यस अघिका कुनै पनि प्रधानमंत्रीले ओलीको जति सशक्त ढंगले सिमा बिबादको बिषयलाई नेपालको हितमा उठाएको पाईदैन ।
नेपाल(भारत सम्बन्धका सवालमा नेपालको हितलाई महत्व दिएर केपी ओलीले उठाएका बिबिध सवालहरु मध्ये सिमा सम्बन्धि बिबादको प्रसंग बिशेष महत्वको रह्यो । खासगरेर लिपुलेक,लिम्पियाधुरा र कालापानी क्षेत्र समेटिएको नक्सा संसदबाट पारित गराउने काममा केपी ओलीको नेतृत्वको सरकारले उल्लेख्य सफलता हासिल गरेकै हो । तर यही देशभक्ति कदमलाई कार्यान्वयन गर्ने सवालमा भारतीय सत्तापक्षसँग ओलीको बिबाद चुलिएर गयो । यही सेरोफेरोमा ओलीबिरोधी गठबन्धन पार्टीभित्र सशक्त बन्न पुग्यो । प्रचण्ड आफैले पाँचबर्षका लागि सरकारको नेतृत्व ओलीले नै गर्ने भनेर गरेको सहमति तोडेर ओलीलाई सरकारबाट हटाउने खेल सुरु गरेपछि नै एमाले बिभाजित बन्न पुगेको हो ।
ओलीलाई हटाएर भारतको लागि कम्फर्टेबल सरकार बनाउने घोषणा प्रचण्डबाट सार्वजनिक रुपमै ब्यक्त गरियो र आन्तरिक राजनीतिमा अमेरिका र भारत लगायतका शक्ति सम्पन्न देशहरुलाई खुल्ला रुपमा आमन्त्रण गरियो ।त्यसपछिका घटनाक्रमहरुका आधारमा बिष्लेषण गर्दा स्पष्ट देखिने गरी केपी ओली भारत र अमेरिकाका लागि अरुभन्दा कम्फर्टेबल बन्ने कसरतमा उत्रिएर पनि अरुलाई उछिन्न सकेनन् ।
जुनसुकै शक्तिकेन्द्रको कारणबाट भएपनि एमाले पार्टी भित्र सृजना भएको बिबाद र विभाजनले एमाले पार्टी र समग्रमा देशलाई नै समस्या आईपरेको छ । एमाले मात्र मिल्दाको परिणाम कस्तो हुन्छ भन्ने सानो उदाहरण बाग्मती प्रदेसमा पनि देखिएकै हो । मुख्यमंत्री डोरमणि पौडेललाई खनाल–नेपाल पक्षका सांसदहरूले पनि साथ दिएपछि परिणामले कोल्टे फेरेको स्पष्टै छ ।
ओलीसँग कुनै पनि हालतमा मिल्न नसकिने निष्कर्ष निकाल्दै छुट्टै पार्टी निर्माणको पक्षमा रहेका एमाले नेताहरुले आत्म समीक्षा गर्नु जरुरी छ ।लामो समयसम्म माधव नेपाल र झलनाथ खनालको नेतृत्वमा पार्टी रहँदासम्म एमाले पार्टीबाट कुन(कुन ठाउँमा गल्तीहरु गरियो रु पार्टी एक हुँदा कहाँ(कहाँ कमजोरीहरु भए रु छिमेकी देशसँगका असमान सन्धि सम्झौताहरुलाई सच्याउने र नेपालको हितमा संशोधन गर्ने प्रयासहरुमा पार्टी किन अगाडि बढ्न सकेन रु देशका जलसम्पदाहरु छिमेकी देशकै स्वार्थ अनुकूल हुने गरी किन सम्झौताहरु गरिए रु गोरखा भर्ती केन्द्र खारेज गर्ने र देश भित्र रोजगारी सृजना गर्ने काममा किन चासो लिईएन रु यस्ता सबै राष्ट्रघाती कामहरुमा केपी ओली मात्र दोषी छन् कि सबै नेताहरु दोषी छन् रु एमाले नेताहरुले आत्मसमिक्षा गर्नु जरुरी छ ।जसपाका नेताहरुले त झन् पार्टी बिभाजनबाट पछुताउने बाहेक अरु केही हात लाग्ने छैन । अरुको पछि लागेर आशा गर्नु बाहेक अरु उपाय हुने छैन !


















