उनले अघिल्लो सरकारको पालामा ९७ लाख मात्रा खोप प्राप्त गरी असार मसान्तसम्म ४२ लाख खोप जनतालाई उपलब्ध गराइएको जनाउँदै नयाँ सरकार आएपछि हिजोसम्म ७५ लाख खोप लगाइएको जानकारी गराए । उनले भने– ‘वर्तमान सरकारले खोपलाई अभियानका रुपमा प्रत्येक दिन १ लाख ५० हजारदेखि २ लाख खोप लगाउने थालनी गरेको छ । असोज मसान्तसम्म भुटानबाट प्राप्त समेत १ करोड ८ लाख प्राप्त हुने सुनिश्चित भएको छ । खोपको सुनिश्चित भएसँगै ३३ प्रतिशत जनतालाई खोप लगाउने कार्यक्रम राखिएको छ ।’
उनले खोपलाई सरकारले प्रमुख प्राथमिकतामा राखेकाले अल्पकालीन र दीर्घकालीन योजना बनाएर सदनमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरे । ठूला-ठूला अस्पतालहरूको स्तरवृद्धि गरेर गुणस्तरीय स्वास्थ्य सेवा दिन सरकार लागिपर्ने राज्यमन्त्री श्रेष्ठले जनाए। सरकारले १६ जिल्लामा ज्यादै संक्रमण बढेकोले सो क्षेत्रमा सरकारले खोपको विशेष व्यवस्था गर्ने जानकारी दिए । उनले निजी क्षेत्रका स्वास्थ्य क्षेत्रलाई नाफामुखी भन्दापनि सेवामुखी बनाउनेमा सरकार केन्द्रीत हुने दावी गरे ।

















