कीर्तिपुरको बाघभैरव मन्दिर स्थापनाको संक्षिप्त कथा :
परापूर्वकालमा दहको रुपमा रहेको आजको काठमाडौं उपत्यकाका उच्च भागमा रहकेका केहि बस्तिहरु मध्ये कीर्तिपुर पनि एक हो । हालको कीर्तिपुर डॉडा त्यत्तिबेला जंगल रहेको आज पनि डॉडामा बचेका केहि जंगलको अवस्थाले पुष्टि गर्दछ । त्यत्तिबेला मानिसको दैनिकी भनेको खेतिपाती र वस्तु पालन नै थियो । कीर्तिपुरका गोठाला केटाकेटीहरु गाई वस्तु, भेंडा, बाख्रा चराउन सोहि जंगलतिर जान्थे । भेंडा, बाख्राहरु चरिरहेका बेला केटाकेटीहरु माटाका विभिन्न वस्तुहरु बनाई खेल्ने गर्दथे । सोहि क्रममा एकदिन गोठाला केटाकेटीहरुले खेल्ने माटोको बाघको मूर्ति बनाए । बाघको मूर्ति आकर्षक बन्यो । मूर्ति बनिसकेपछि मुखमा जिब्रो हाल्नको निमित्त सुहाउ‘दो पात खोज्न गए । गाईवस्तु, भेंडा, बाख्राहरु चरिरहेकै थिए ।
सोहि क्रममा महादेव घुम्दैफिर्दै सोहि जंगलमा आईपुगे । जंगलमा खाईलाग्दा गाईवस्तु, भेंडा, बाख्राहरु चरिरहेको देखेर महादेवलाई तिव्र भोक जागेछ र सिकार र्गन मन लाग्यो । सिकार त गर्ने तर कसरी ? संहारका देवता भएपनि महादेव त साकाहारी, मासु नखाने । महादेवलाई सिकार गर्ने ईच्छा जागेकै बेला गोठाला केटाकेटीहरुले बनाएको माटोको बाघ देखेछ । त्यसपछि त्यहि माटोको बाघ आकृतिमा महादेव भैरवको रुपमा प्रवेश गरी सॉच्चैको हिंस्रक बाघ प्रकट भएर गोठाला केटाकेटीका भएभरका गाईवस्तु र भेंडा, बाख्रा खाईदिए ।
केटाकेटीहरु माटोको बाघकौ मूर्तिमा जिब्रो हाल्ने सुहाउ‘दो पात फेला पारी खुशी हु‘दै फर्के । तर अचम्म जंगलमा आफ्ना गाईवस्तु, भेंडा, बाख्रा नदेखेपछि आत्तिए, रोए, कराए । तर गाईवस्तु, भेंडा, बाख्राको चाईंचुईं थिएन । केटाकेटी रोएको देखेर बाघले मुख ऑ गरी देखाए, बाघको मुखैभरि तात्तातो रगत थियो । केटाकेटीले बुझे, आफूहरुले बनाएको माटोको खेलौना बाघ त सॉच्चैकै बाघ भएछ र आफ्नो गाईवस्तु, भेंडा, बाख्रा खाईदिएछ । केटाकेटीहरु रुँदै, रिसाउँदै सरापेछन्, हाम्रा भएभरका गाईवस्तु, भेंडा, बाख्रा खाईदिने बाघलाई अब जिब्रो पनि हालिदिंदैनौं, त्यस्तै होस् भनी आ–आफ्नो घर फर्कें ।
गाईवस्तु, भेंडा, बाख्रा चराउन गएका केटाकेटी रित्तै फर्केपछि आमा, बाबुले सोधे । केटाकेटीले इतिवृत्तान्त बताएपछि कीर्तिपुरे गाउ‘लेहरु बुझे कि त्यो चानचुने बाघ होइन, पक्कै ठूलै देवता हुनुपर्छ । नभन्दै भोलिपल्ट त्यहि जंगलमा हेर्न जॉदा माटोको बाघ जहॉको तहिं थियो । केटाकेटीले भनेजस्तै बाघको मुखमा रगतका टाटा रातै थिए । त्यसपछि उक्त बाघको मूर्तिलाई बाजागाजाका साथ जात्रा गर्दै मन्दिरमा स्थापना गर्न लगे । गोठाला केटाकेटीले बनाएको माटोको बाघको मूर्ति अद्यापि छ‘दैछ, जुन विशेष अवसरमामात्र सार्वजनिक गरिन्छ । मन्दिरमा भने ठूलो आकृतिको मुख बाएको बाघको मूर्ति स्थापना गरे । पछि राजा शिवदेव तृतियले बाघभैरवको विशाल मन्दिर मनाए ।
जनश्रुतिका आधारमा लेखन : विरेन्द्र शाक्य ‘विविशा’

















