नागरिकता पाउन मुस्किल भएपछि कुस्ती खेलाडी शिवानी दुखि बनिन्

126

महेन्द्रनगर । कुस्ती खेलमा एउटा परिचित खेलाडीको नाम हो ‘शिवानी दुबे’ । खेलकूदमा निरन्तरको मेहनतसँगै राष्ट्रियस्तरको कुस्ती खेलमा सात स्वर्ण र अन्तर्राष्ट्रिय प्रतियोगितामा मुलुकका लागि रजत पदक दिलाएकी कुस्ती खेलाडी शिवानी यतिबेला नागरिकता पाउन मुस्किल भइरहेको दुखेसो पोखेकी छन् ।

शिवानीका बाबु भारतीय नागरिक हुन् भने आमा नेपाली । विसं २०५६ सालमा डडेल्धुराकी राधिका रोकासित विवाह गरेपछि शिवानीका बुवा राजु दुबे नेपालमै बस्दै आएका छन् । डडेल्धुराको तुफानडाँडाबाट विवाह गरेका राजु पनि कुस्तीका राष्ट्रिय खेलाडी हुन् ।

केही समयपछि नर्वेमा हुने कुस्ती च्याम्पियनसीपका लागि खेलाडी छनोटको तयारी हुँदा नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय डडेल्धुरा पुगेकी शिवानी निराश हुदै फर्किएकी छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ खैरेनी बस्दै आएका दुबे परिवार महेन्द्रनगरमा मजदुरी गरेर जीविका चलाउँदै आएका छन् ।

“खेलाडी राष्ट्रका गहना हुन, देशको शिर उचो बनाउने काम खेलाडीबाट पनि हुन्छ”, शिवानीका बाबु राजुले भने, “अन्तर्राष्ट्रियस्तरमा समेत छोरीले देशका लागि पदक दिलाउँदा पनि नागरिकताका लागि यस्तो दुखः भयो ।” आमा राधिकाको नागरिकताका आधारमा आफूले पनि नागरिकता पाउनुपर्ने शिवानीको धारणा छ ।

कुस्तीकी कम उमेर समूहकी खेलाडी शिवानी पन्ध्र वर्षको उमेरदेखि राष्ट्रिय प्रतियोगितामा पदक जित्दै आएकी छन् । १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) का ५३ किलो तौल समूहमा प्रतिस्पर्धा गरेकी शिवानी फाइनलमा भारतीय खेलाडी पिङ्की सेरावतसित पराजित भएकी थिइन् ।

“अहिलेसम्म कुनै पनि प्रतियोगिताबाट पदकविहीन फर्किनुपरेको छैन”, शिवानीले भनिन्, “ओलम्पिकसम्म पुग्ने मेरो सपना हो ।” उहाँले आफूले आमाको नामबाट पनि नागरिकता पाउने प्रबन्ध रहेको सुनेको जनाउनुभयो । बाबु राजुले शिवानीको नागरिकता लागि राष्ट्रिय खेलकूद परिषद्बाट पनि पहल भइरहेको जानकारी गराए ।

“डडेल्धुरा जिल्ला प्रशासनले आमाको नामबाट नागरिकता दिने व्यवस्था कार्यान्वयन भइनसकेको भनेर फर्काइदियो”, उनले भने, “अहिले कुस्ती सङ्घ र राखेपले पनि पहल गरिरहेकाले आशा पलाएको छ ।” राजुका दुई छोरी र एक छोरा छन् । शिवानी जेठी छोरी हुन् ।

यसअघि पनि क्रिकेटका राष्ट्रिय खेलाडीले नागरिकता पाएको सुनेकाले शिवानीले पनि पाउनुपर्ने उनको भनाइ छ । आफू विगत २२ वर्षदेखि नेपालमै बस्दै आएको जनाउँदै राजुले आफूसँग भारतीय कुनै पनि कागजात नरहेको जनाए ।

कुस्तीका प्रशिक्षक राजेन्द्रबहादुर चन्दले महिला कुस्तीमा राष्ट्रियस्तरमै कञ्चनपुर अब्बल रहेको जनाए । “महिला खेलाडी भनेकै अहिले कुस्तीमा हाम्रै खेलाडी हाबी छन्”, उनले भने, “शिवानी लगनशील र अब्बल खेलाडी हुन् ।” प्रशिक्षक चन्दले कानूनी प्रक्रिया अनुसार शिवानीले नागरिकता पाउनुपर्ने जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here