काठमाडाैं । प्रभावित क्षेत्र र लमजुङबासीका लागि सेयर निष्काशन गरेको न्यादी जलविद्युत् आयोजनाको सेयरमा चार दिनमै आठ लाख भन्दाबढी कित्ताको लागि आवेदन परेको छ ।
प्रभावित क्षेत्र र जिल्लाबासीका लागि कुल १५ लाख कित्ता सेयर निष्काशन गरेकोमा शुक्रबारसम्म आठ लाख ५८ हजार ८० कित्ताका लागि आवेदन परेको हो ।
आयोजनाका अनुसार पाँच लाख कित्ता छुट्याइएको प्रभावित क्षेत्रबाट मात्रै दुई लाख ३७ हजार आठ सय ६० कित्ताको लागि अवेदन परेको छ । सोबाहेक १० लाख कित्ता छुट्याइएको जिल्लाबासीका तर्फबाट ६ लाख दुई हजार दुई सय २० कित्ताका लागि आवेदन परेको छ । प्रभावित र जिल्लाबासीका तर्फबाट सेयर खरिदका लागि कुल आठ करोड ५८ लाख आठ हजार रुपैयाँ जम्मा भइसकेको न्यादी जलविद्युत् आयोजनाका जनसम्र्पक अधिकृत विजय गुरुङले बताए ।
भदौ १ देखि बिक्री खुल्ला भएको सेयरका लागि पहिलो दिन मात्रै प्रभावित क्षेत्रबाट एक हजार एकसय ८० कित्ताका लागि आवेदन दर्ता भएको थियो । प्रभावित क्षेत्रबाट दोश्रो दिन ३८ हजार एक सय ८० कित्ताको लागि आवेदन परेको थियो भने तेश्रो दिन ८१ हजार चार सय ४० कित्ता र चौथो दिन ११ हजार सात सय ६० कित्ताको लागि आवेदन परेको आयोजनाले जनाएको छ ।
त्यसैगरी जिल्लाबासीका तर्फबाट सेयर निष्काशन भएको पहिलो दिन १८ हजार दुई सय ८० कित्ताका लागि आवेदन परेको छ । दोश्रो दिन ९१ हजार तीन सय ९० कित्ताको लागि आवेदन परेको छ भने तेश्रो दिन दुई लाख ८२ हजार ८० कित्ता र चौथो दिन तीन लाख दुई हजार दुई सय ७० कित्ताको लागि आवेदन परेको आयोजनाले जनाएको छ ।
भदौ १ गतेदेखि निष्काशन भएको उक्त आईपीओमा भदौ १५ गतेसम्मका लागि समयसीमा निर्धारण भएको छ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भदौ ३० गतेसम्म अवेदन खुल्ला गर्ने सूचनामा उल्लेख छ । यद्यपी निर्धारित समयमै अपेक्षित सेयरका लागि आवेदन आइसक्ने सम्भावना रहेकोले १५ गते नै बन्द हुने सम्भावना बढेको छ ।
लमजुङमा निर्माण सम्पन्न ३० मेगावाट न्यादी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्र र जिल्लाबासीका निम्तीे १५ लाख कित्ता शेयर निष्कासन गरेको हो । बुटवल पावर कम्पनीको सहायक कम्पनीको रुपमा रहेको न्यादी हाइड्रोपावरलाई धितोपत्र बोर्डले अनुमति दिएसँगै भदौ १ देखि बिक्री हुनेगरी आईपीओ निष्कासन गरेको हो ।
आयोजनाका अनुसार प्रभावित क्षेत्रमध्ये मस्र्याङदी गाउँपालिकाको वडा नम्वर ६, ७, ८ र वडा नम्वर ३ को केही क्षेत्र समेटिएको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा गाउँपालिका अन्तर्गत साविक बाहुनडाँडा, भुलभुले र खुदीको साविक वडा नम्बर १, २, ३ र ६ वडालाई अति प्रभावित क्षेत्रको रुपमा प्राथमिकतामा राखेको छ ।
कम्पनीले प्रभावित क्षेत्र र जिल्लाबासी बाहेक आयोजना प्रवद्र्धक बुटवल पावर कम्पनी र लमजुङ विद्युत् विकास कम्पनीका कर्मचारीहरुका लागि थप तीन लाख कित्ता सेयर पनि निष्काशन गरेको छ ।
सेयर बिक्रीका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई प्रबन्धक र एनएमबि क्यापिटललाई सह प्रबन्धकको जिम्मा दिएको छ । सर्वसाधरणले भने ग्लोबल आइएमई बैक, एनएमबि बैंक र सिभिल बैकमार्फत सेयर खरिद गर्नसक्ने आयोजनाले जनाएको छ । काराेबारबाट


















