काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका क्रियाशील सदस्यहरूको नामावली तत्काल सार्वजनिक गर्न सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् । क्रियाशील सदस्यता वितरणमा त्रुटि भए सच्याउने अवसर प्रदान गर्न पनि पार्टी नेतृत्वले त्यसको सार्वजनिक गर्न ढिलाइ गर्न नहुने उनले स्पष्ट पारे ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गर्नुपर्ने मुख्य माग राख्दै पार्टीका जिल्ला सभापतिहरूले धर्ना दिइरहेका छन । सोही धर्ना कार्यक्रममा ऐक्यबद्धता जनाउन बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका वरिष्ठ नेता पौडेलले युद्धस्तरमा काम गरेर भए पनि पार्टीको क्रियाशील सदस्यहरूको नामावली तत्काल सार्वजनिक गर्न सभापति देउवासँग माग गरे ।
उनले पार्टीको वैधानिक संकट आउन नदिन आगामी भदौ १८ गते वडा अधिवेशन सम्पन्न हुने गरी युद्धस्तरमा काम अगाडि बढाउन पनि पार्टी नेतृत्व गम्भीर हुनुपर्ने दोहोर्याए ।
‘युद्धस्तरमा अहोरात्र खटिएर क्रियाशील सदस्यहरूको नामावली टुंग्याएर पार्टीलाई वैधानिक संकटबाट बचाउन पर्दछ,’ उनले भने, ‘संवैधानिक संकटबाट नेपाली कांग्रेसलाई बचाउनुपर्ने अहिले आवश्यकता भएको छ । पार्टीलाई बचाउने काममा सबै एक होऔँ ।’
वरिष्ठ नेता पौडेलले पार्टीको महाधिवेशन समयमै सम्पन्न गर्न आफूले प्रयास गरिरहे पनि पार्टी नेतृत्वले सुनुवाइ नगरेको गुनासो पनि गरेका छन् । उनले पार्टी नेतृत्व इमान्दार भए अझै पनि तोकिएकै समयमा १४ औँ महाधिवेशन सम्पन्न गर्न सकिने विश्वास पनि व्यक्त गरे ।


















