नेपाली प्रथम अन्तर्राष्ट्रिय धावक गजराज जोशीको मूर्ति अनावरण

119

काठमाडौं । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले मंगलबार नेपाली खेलकुदका प्रथम अन्तर्राष्ट्रिय धावक गजराज जोशीको अर्धकदको मूर्ति अनावरण गरेका छन् ।

ढलोटले बनेको स्व. जोशीको मूर्ति ओलम्पिक कमिटीको सातदोबाटोस्थित मुख्यालयमा रहेको छ । मूर्ति ओलम्पिक भवनको भुइँतल्लामा नेपाल ओलम्पिक संग्रहालय अगाडि राखिएको छ । उक्त अवसरमा कमिटीका अध्यक्ष श्रेष्ठले नेपाली खेलकुदले पुराना खेलाडीलाई सम्झनुपर्नेमा जोड दिए । कार्यक्रममा कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठ र टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले नेपाली खेलकुदमा जोशीको योगदानबारे बोल्नुभएको थियो । जोशी नेपाली खेलकुदको इतिहासमा अन्तर्राष्ट्रिय सहभागिता जनाउने क्रममा पहिलो पुस्ताका खेलाडीमा पर्नुहुन्छ । नेपाली खेलकुदमा उहाँले पुर्‍याउनुभएको अतुलनीय योगदानका लागि नेपाल खेलकुद पत्रकार मञ्चले ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ समेत प्रदान गरिसकेको छ । उहाँले सन् १९५१ मा भारतको नयाँ दिल्लीमा भएको पहिलो एसियाली खेलकुदमा सहभागिता जनाउनुभएको थियो । यहीँबाट उहाँ नेपालका पहिला अन्तर्राष्ट्रिय खेलाडी र धावक बन्नुभएको हो ।

सैनिक जवान अवस्थामा नेपालको प्रतिनिधित्व गरी दक्षिण एसियाली खेलकुदमा सहभागी टिमका एक सदस्यमा उहाँ पनि हुनुहुन्थ्यो । उहाँले दौड स्पर्धामा सहभागिता जनाउनुभएको थियो । उहाँले महावीर र एनआटीबाट फुटबल पनि खेल्नुभयो । जोशीका खेल व्यक्तित्व मात्र नभएर त्यसका धेरै फरक–फरक आयाम पनि रहेका छन् ।

उहाँको जन्म वि.सं १९७९ सालको गाईजात्राका दिनमा टोखामा भएको थियो । युवा अवस्थामा उहाँ इन्डियन ब्रिटिस आर्मीमा भर्ति हुनुभयो र दोस्रो विश्वयुद्धमा बर्मामा सहभागीसमेत हुनुभएको थियो । दोस्रो विश्वयुद्धको समाप्तिमा नेपाल फर्केर नेपाल आर्मीमा भर्ति हुनुभएको थियो । काठमाडौंको चक्रपथ निर्माणको जिम्मेवारी सेनालाई दिँदा उहाँ पनि त्यस टोलीमा आबद्ध हुनुहुन्थ्यो । उहाँको २०६६ फागुन १६ मा निधन भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here