काठमाडौं । नेकपा (एमाले)का १० जना प्रदेश सभा सदस्यले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेपछि प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन्।
एमाले औपचारिक रूपमा विभाजन भएसँगै निर्वाचन आयोगले २२ भदौसम्म प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्ने समय दिएको छ।
सोहीअनुसार बुधबार एमालेका राजेन्द्र राई, खिनु लङ्वा लिम्बू, गणेश काङ्वाङ, राजन राई, सावित्रा रेग्मी, सरिता थापा, पदमकुमारी गुरुङ, सुनिता चौधरी, कृष्णकुमारी राई र उपेन्द्र घिमिरेले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी रोजेका हुन्।
कुल ९३ सदस्य रहेको प्रदेश सभामा हाल ९२ सदस्य कायम छन्। यसमध्ये अब एमालेका ४१, नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका १/१ जना सदस्य छन्।


















