काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित विद्यालयहरुले भौतिक उपस्थितिमा पठनपाठन नगराउन स्थानीय प्रशासनले निर्देशन दिएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रीजालका अनुसार शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठन पाठन गर्न/गराउन पाउने छैनन् । तर, पठनपाठन भौतिक उपस्थितिमै सञ्चालन गर्नैपर्ने भएमा सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु संचालनको निर्णय गर्न सक्ने जनाइएको छ ।
यसअघि काठमाडौँ उपत्यकामा रहेका केही विद्यालयहरुले भौतिक उपस्थिति सहित पठनपाठन थालेका थिए । यस्तै, अनावश्यक रुपमा मानिसहरु जम्मा हुने, भीडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज गर्न नपाइने आदेशमा भनिएको छ ।
आदेशमा भनिएको छ, ‘यस अवधिमा पर्ने चाडपर्वहरु स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी न्यूनतम सहभागितामा साङ्केतिक रुपमा मात्र मनाउनुपर्नेछ । सर्वसाधारण व्यक्ति, समूह तथा संस्था लगायत निकायहरुबाट आर्थिक, सामाजिक तथा व्यवसायीक गतिविधिहरु संचालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरेर मात्र गर्न पाउने ।’
यस्तै सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानी राति ९ बजेदेखि बिहान ५ बजेसम्म संचालन गर्न पाउने आदेशमा उल्लेख छ ।



















