दाङ । तुलसीपुर १३ दमारगाउँमा हत्या गरेर गाडिएको अबस्थामा फेला परेका दुई किशोर–किशोरीले प्रयोग गर्ने मोबाइल र चप्पल फेला पारिएको छ । तालिमप्राप्त कुकुरको सहयोगमा मंगलबार दिउँसो दुबैजनाले प्रयोग गर्ने मोवाइल र केटीको चप्पल फेला पारिएको थियो । फेला पारिएका मोबाइल र चप्पललाई फरेन्सिक ल्याब परिक्षणका लागि काठमाडौं पठाउने तयारी रहेको प्रहरी स्रोतले बताएको छ ।
ति मोबाइल र चप्पललाई काठमाडौं पठाएपछि एक/दुई दिनमै रिपोर्ट आउने र त्यसपछि त्यसका आधारमा अनुसन्धान गर्न थप सहज हुने प्रहरीले बताएको छ।‘काठमाडौंबाट फरेन्सिक ल्याब रिपोर्ट आउछ’, प्रहरीले भनेको छ,‘त्यसपछि कल डिटेल पनि हेर्छौ, त्यसबाट थप तथ्य फेला पर्छ ।’ यो घटनामा प्रहरीले अनुसन्धानलाई अन्तिम चरणमा पुर्याएको छ ।
उनीहरु दुबैजनाको शवलाई मंगलबार तुलसीपुर १२ स्थित बबई घाटमा एकैसाथ अन्त्येष्टी गरिएको छ । दुबैका परिवारले एकै स्थानमा फरक–फरक चिता बनाएर अन्त्येष्टी गरेका हुन् । असोज ३० गते दिउसो १२ बजेतिर दमारगाउँको एक सामुदायिक बनको चिरामा गाडिएको अबस्थामा दंगीशरण गाउँपालिका वडा नं६ थपगाउँ निवासी १५ वर्षीय शरद आचार्य र तुलसीपुर १३ डाँडागाउँ निवासी १५ वर्षीया रोशनी महताराको शव भेटिएको थियो । उक्त घटनामा शंकास्पद देखिएपछि हेटौंडा निवासी एक टिप्पर चालकलाई पक्राउ गरि अनुसन्धान जारी राखिएको हो ।
ति चालककै बयानका आधारमा सल्यानबाट उनकै साथीलाई पक्राउ गरिएको हो । चालकले हत्यामा संलग्न चार जना रहेको बयान दिएका छन् ।तिमध्ये एक जना सल्यानबाट पक्राउ परे भने अन्य दुईजना अझै फरार छन् । सल्यानबाट पक्राउ परेका व्यक्तीले भने आफूले उनीहरुको हत्या नगरेको र अन्य साथीहरुले हत्या गरेपछि शव ओसारेर खाल्डोमा हाल्न सहयोग गरेको बयान दिएको प्रहरीले बताएको छ ।

















