काठमाडौं । ड्युटीमा खटिएका प्रहरीलाई मुक्का हानेको भिडियो सार्वजनिक भएको छ। सडकमा रोकिराखेको प्रहरीको गाडीभित्र बसेका प्रहरीलाई नै एक हुल युवाले मुखमा मुक्का हानेको देखिन्छ। ८/९ जनाको समूहमा रहेका युवाले ती प्रहरीको मास्क खोल्नेदेखि मुक्काले समेत हान्छन्।
‘ठूला कुरा गर्ने ? फोटो खिच्ने ?’ भन्दै प्रहरीलाई उनीहरुले कपाल तान्नेदेखि, मुखमा लगाएको मास्क खोलेर मुक्का हानेको भिडियोमा देखिन्छ। कुटपिट गरिसकेपछि केही पर गएका उनीहरु फेरि फर्केर आएर प्रहरीमाथि कुटपिट गर्छन्। यति हुँदासम्म फिल्ड कमाण्डर भने ती युवाको जमातलाई सम्झाउन मात्रै खोज्छन्। युवाको जमातले ड्युटीमा रहेको प्रहरीलाई मुक्का हान्दा समेत प्रहरी निरिह भएको भिडियोमा देखिन्छ।
‘सिपाही भएर बढ्ता हुने’ भन्दै उनीहरुले प्रहरीलाई फर्कि–फर्की कुटपिट गरेको देखिन्छ। त्यसको केही समयमा प्रहरीको थप टोली पनि घटनास्थल आइपुग्छ। उनीहरु पनि ती युवाको जमात अघि निरिह भएको देखिन्छ। उनीहरुले ‘तेरो एआइजी हरि पाललाई बोला’ समेत भनेको भिडियोमा सुनिन्छ।उनीहरुले ‘एउटा सिपाहीलाई सम्झाउन सक्दैन ? हरि पाललाई बोला’ भनेर प्रहरीलाई धम्की दिन्छन्।
‘मुक्का हान्ने समूह जो भएपनि उनीहरु कारबाहीको दायरामा आउँछन्। उनीहरुको खोजी भइरहेको छ’, एसएसपी सिंहले भने। उता काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख तथा एआइजी हरि पालले पनि युवाहरुको पहिचान गरी कारबाहीको दायरामा ल्याउन जिल्ला प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिइसकेको बताए।
उक्त भिडियो सार्वजनिक भएपछि पूर्वडीआईजी पूर्णचन्द्र जोशीले प्रहरीमाथि हातपात गर्नेलाई हदैसम्मको कारबाही हुनुपर्ने बताएका छन्। उनी भन्छन्, ‘प्रहरी आफैंले कुनै गल्ती गर्नु हुँदैन। आफू सहि हुँदाहुँदै कसैले अति गर्छ भने त्यस्तालाई नियम सिकाउनु पर्छ।’


















