महाकालीमा तुइन काटिएको घटना थाहा छैन : भारतीय प्रवक्ता बाग्ची

216
काठमाडाैं । भारतले दार्चुलाको महाकाली नदीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिँदा एक जना नेपाली बेपत्ता भएको घटनाबारे औपचारिक जानकारी नभएको जनाएको छ।

बिहीबारको नियमित पत्रकार सम्मेलनका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले मिडियामा रिपोर्टहरू पढे पनि यसबारेमा सरकारलाई कुनै औपचारिक जानकारी नभएको जनाएका हुन्।

‘नेपालले छानबिन समिति बनाएको मिडियाबाट थाहा पाएको हो, त्यो उनीहरूको आन्तरिक छानबिन समिति हो। हामीलाई यसबारेमा केही जानकारी छैन,’ बाग्चीले भने ।

गत साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका-२ स्थित तुइन तरेर भारत हुँदै जिल्ला सदरमुकाम खलङ्गा आउने क्रममा तुइनको लठ्ठासँगै खसेर जयसिंह धामी नदीमा बेपत्ता भएका थिए। भारतको एसएसबीले तुइनको लठ्ठा काटेकाले धामी नदीमा खसेको स्थानीयले जनाएका थिए।

सरकारले साउन १७ गते गठित १० दिनको म्याद दिएर छानबिन समिति बनाएको थियो। पटक-पटक म्याद थपिएको उक्त समितिले मंगलबार गृह मन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनमा एसएसबीकै उपस्थितिमा घटना भएको उल्लेख छ।

सोही प्रतिवेदनको आधारमा भारतीय पक्षसँग घटनाबारे कुरा गर्न बिहीबार गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here