नेपाल र बंगलादेशबीचको दोस्रो खेल गोलरहित बराबरी

77

काठमाडौं । नेपाली महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बंगलादेशसँगको पहिलो मैत्रीपूर्ण खेलको दाजोमा आफ्नो टोलीले दोस्रो खेलमा कमजोर प्रदर्शन गरेको स्वीकार गरेका छन् ।

दशरथ रंगशालामा आइतबार भएको नेपाल र बंगलादेशबीचको दोस्रो खेल गोलरहित बराबरीमा टुंगिएको थियो । बिहीबार भएको पहिलो खेलमा नेपाल २–१ ले हराएको थियो । एएफसी एसियन कप छनोटको तयारीमा रहेका दुई टोलीले मैत्रीपूर्ण खेल खेलेका थिए ।

‘पहिलो खेलमा भन्दा आजको रणनीतिमा केहि परिवर्तन गरेर खेलाएको थिएँ’, फिलिप्सले भने, ‘त्यसमा मेरो पनि केहि कमजोरी रह्यो । सोचे जस्तो प्रदर्शन हुन सकेन । कप्तान रेनुका नगरकोटेले भने अलराउन्ड प्रदर्शन गरिन् । उनले मिडफिल्डमा राम्रो साथ पाउन नसक्दा हामीले सोचेजस्तो खेल्न सकेनौं ।’

पहिलो खेलबाट सुरुवाती रोजाइमा फिलिप्सले ३ खेलाडी परिवर्तन गरेका थिए । पहिलो खेलमा भन्दा नेपाली टोली केहि थकित पनि देखिन्थ्यो । फिटनेसका लागि प्रशिक्षणसँगै खेल पनि त्यत्तिकै हुनुपर्नेमा प्रशिक्षकले जोड दिए । ‘यि खेलाडीले ६ महिनायता प्रतिस्पर्धात्मक खेल खेलेका छैनन्’, उनले भने, ‘फिटनेस प्रशिक्षण र प्रतियोगिताबाट हुने हो । यो दुई खेलले भने टोलीलाई एसियन कप छनोट खेल्न निकै सहज हुनेछ ।’

गत फागुनमा राष्ट्रिय लिगमा खेलेयता झण्डै दुई महिना अघिबाट महिला टोलीको प्रशिक्षण सुरु भएको थियो । कप्तान रेनुकाले भने केहि पुराना खेलाडी टोलीमा नहुनु र नयाँ टोलीसँगको तालमेल मिलिनसकेकाले खेल सोचे अनुरुप नभएको बताइन् । ‘कतिपय खेलाडी जिल्लाको टोलीबाट खेलेर राष्ट्रिय टोलीमा आएका छन् । त्यसैले सबैको खेलका बारेमा हामी पनि जानकार छैनौं’, उनले भनिन्, ‘भविष्यमा टोली राम्रो हुन्छ । तर अहिले भने खेल्न केहि गाह्रो भएको छ ।’

नेपाल र बंगलादेशको महिला टोलीबीच आइतबारको आठौं भेट हो भने दोस्रो बराबरी । अन्य ६ खेलमा नेपाली टोली विजयी भएको थियो ।
बंगलादेशका प्रशिक्षक गोलाम रोब्बानी छोटोले भने नेपालसँगको बराबरीबाट खुसी थिए । ‘नेपाल बलियो टोली हो । आज हाम्रो खेलाडीले राम्रो प्रदर्शन गरे,’ उनले भने, ‘जोर्डनसँग अर्को साता खेल्नु अघि हामीलाई यो खेलले मनोबल बढाउनेछ ।’

नेपाली टोली सोमबार उज्वेकिस्तान प्रस्थान गर्ने कार्यक्रम रहेको छ । एसियन कप छनोटमा नेपालले फिलिपिन्स र हङकङसँग प्रतिस्पर्धा गर्नेछ । असोज २ गते नेपाली टोलीे फिलिपिन्स र असोज ५ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ । राउन्ड रोविन लिगपछि शीर्ष टोली यसैबर्ष भारतमा हुने एसियन कपका लागि छनोट हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here