बुधबार पेरिसडाँडामा आयोजित एक कार्यक्रममा उनले आफ्नो माग पुरा गर्न संविधान संशोधन आवश्यक भएको र त्यसका लागि सडकमा पुग्नुपर्ने अवस्था आएमा त्यसबाट पछि नहट्ने जनाए । उनले भने,‘ हाम्रो पार्टीका कतिपय माग पूरा भएका छैनन् । हामी मुलुकमा निर्वाचन प्रणाली, शासकीय स्वरुपका विषयमा यथावत छौँ । पहिला पनि नोट अफ डिसेन्ट लेखिएको थियो । अहिले पनि आवश्यक परे सडकमा जान तयार छौँ।’
प्रचण्डले माओवादी पार्टीलाई अहिले पनि कसैले जित्न नसक्ने दाबी गरे । आगामी निर्वाचनमा एक नम्बरको पार्टी माओवादीलाई बनाउने गरी आफू जुटेको उनको धारणा छ । पछिल्लोपटक नेताहरुमा स्वार्थ हावी भएको, व्यक्ति केन्द्रित राजनीति बढाएको र माओवादी पनि अरु बुर्जुवा पार्टी जस्तै बन्ने खतरा बढेको टिप्पणी पनि प्रचण्डले गर्न भ्याएका छन् । उनको पार्टीको हिजो स्थायी कमिटी बैठक बसेको थियो। बैठकले विधान पारित गर्नुका साथै आगामी पुसमा गरिने राष्ट्रिय सम्मेलनको तयारीका लागि आवश्यक निर्वाचन आयोग गठन गरेको थियो ।


















