एसियन कप २०२२ छनोटमा नेपाल फिलिपिन्ससँग पराजित

77

काठमाडौं । विमला चौधरीको गोलमा पहिलो हाफमै अग्रता लिएर पनि नेपालले वुमेन्स एसियन कप २०२२ छनोटको पहिलो खेलमा शनिबार फिलिपिन्ससँग २–१ को हार बेहोरेको छ ।

उज्वेकिस्तानको तास्केन्दस्थित जेएआर रंगशालामा भएको खेलमा विमलाले हेडर गोलमार्फत दसौं मिनेटमै नेपाललाई अग्रता दिलाएकी थिइन् । त्यसमा उनले सविता रानाको क्रस उपयोग गरेकी थिइन् । उनले गोलकिपर एन्जिला तुम्बापो सुब्बासँग ठोक्किएपछि चोट बोक्दै ३९ औं मिनेटमा मैदान छाडेकी थिइन् । डिफेन्डर पूजा रानाले पनि चोट बोक्दै ६३ औं मिनेटमा मैदान छाडिन् । उनको स्थानमा विमला विकले अवसर पाइन् । सिनियर टिममा यो उनको पहिलो अन्तर्राष्ट्रिय खेल हो ।

‘गोलमेसिन’ सावित्रा भण्डारीको अनुपस्थितिमा पनि नेपाली महिला टिम फिफा वरीयतामा ६८ औं स्थानको फिलिपिन्सविरुद्ध जित नजिक पुगेको थियो । तर, अन्त्यतिर दुई गोल गर्दै फिलिपिन्सले २२ वर्षपछिको भेटमा संघर्षपूर्ण जित हात पारेको हो । नेपाली रक्षापंक्तिमा राम्रो समन्वय नभएको फाइदा उठाउँदै फिलिपिन्सले ९० औं मिनेटमा बराबरी गोल गर्‍यो । पहिलो अन्तर्राष्ट्रिय खेल खेलिरहेकी चान्डलर म्याक्डानियलको क्रसमा तहनाई एनिसले गोल गरेपछि फिलिपिन्स खेलमा फर्किएको थियो । चान्डलरकै चलाखीपूर्ण ‘ब्याकहिल’ पासमा केमिली विल्सनले ९२ औं मिनेटमा गोल गरेपछि फिलिपिन्सले २–१ को जित हात पारेको हो ।

जापानको पहिलो श्रेणीको लिग क्लबमा आबद्ध मुख्य दुई खेलाडीको अनुपस्थितिमै फिलिपिन्सले ३ अंक जोडेको हो । एसियन कप २०१८ मा छैटौं स्थानमा रहेको फिलिपिन्स पहिलो खेलमा जितसँगै जनवरी–फेब्रुअरीमा हुने अर्को संस्करणमा छनोट हुने सम्भावना बलियो बनाएको छ । टोलीले सन् २०२३ को फिफा महिला विश्वकपमा छनोट हुने लक्ष्य बनाएको छ ।

सन् १९९९ मा भएको एसियन कपको भेटमा पनि नेपालले फिलिपिन्सविरुद्ध हार बेहोरेको थियो । त्यसबेला फिलिपिन्सले ५–० को जित निकालेको थियो । त्यो अन्तर यसपालि घटाए पनि नेपाली टिम तास्केन्दमा ३ अंक नजिक पुगेर पनि अंकविहीन बन्यो । फिफा वरीयतामा १०१ औं स्थानमा रहेको नेपालले छनोटमा हङकङसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ । तीन देश समावेश समूह ‘एफ’ बाट शीर्ष टिम एसियन कपमा छनोट हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here