काठमाडाैं । वरिष्ठ साहित्यकार तथा मानवअधिकारकर्मी मल्ल के सुन्दरको उपन्यास ‘सेप्टेम्बर १७’ शुक्रबार जनकवि दुर्गालाल श्रेष्ठले विमोचन गरेका छन्। नेपाल भाषामा प्रकाशित मल्लको यो पाँचौं उपन्यास हो।
नेपाल भाषा प्रतिष्ठानबाट प्रकाशित यस उपन्यासमा पहिचान खोज्दै गरेका नेपाली मूलका अमेरिकी सैनिकको कथा छ। यसले अमेरिकाको अनाथालयमा हुर्केका नेपाली मूलकी आमाका सन्तानले आफ्नो पहिचान खोज्न गरेका संघर्ष र यात्राको कथा भन्छ। उपन्यासकार मल्लका अनुसार, ‘मानिसलाई आफ्नो पहिचान धेरै महत्वपूर्ण रहेकाे हुन्छ। अमेरिकाजस्तो वैभवशाली देशमा बसेका, सुखसुविधामा कुनै कमी नभएका शक्तिशाली सैनिकलाई पनि आफ्नो मौलिक पहिचान नभएपछि कस्तो अवस्था हुन्छ भन्ने मनोविज्ञान खोतल्न खोजेको छु।’
कार्यक्रममा पुस्तक समीक्षा गर्दै लोकसाहित्यविद् मदनसेन बज्राचार्यले यो उपन्यासमा आफ्नो पहिचान गुमाएका गैरआवासीय नेपालीको व्यथा र मृत्युबोध भइसकेका मानिसको भावना व्यक्ति गरिएको बताए। यसबाट अन्तर्राष्ट्रिय परिवेशबारे पनि धैरे जानकारी पाउन सकिने उनले उल्लेख गरे। जनकवि दुर्गालाल श्रेष्ठले उपन्यासमा मानिसका संवेदना र भावनालाई उत्कृष्ट तवरले व्यक्त गरिएको जनाए ।




















