काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतका बाह्य मामिलामन्त्री डा. एस जयशङ्करबीच आज भेटवार्ता भएको छ ।
सो अवसरमा उनीहरुबीच नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्ने विषयका साथै दुई पक्षीय एवं बहुपक्षीय मामिलाबारे विचार आदानप्रदान भएको संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।
“दुवै देशका परराष्ट्रमन्त्रीले कोभिड–१९ ले नेपाल र भारतका जनताको जीवन र आजिविकामा निम्त्याएको चुनौतीको मिलेर सामना गर्न सहमति जनाउनुभयो ।” नियोगले केही बेरअघि जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । मन्त्री डा. खड्काले नेपालको सामाजिक, आर्थिक विकासका निम्ति भारत सरकारबाट निरन्तर प्राप्त सहयोगप्रति कृतज्ञता ज्ञापन गरेकोे विज्ञप्तिमा जनाइएको छ ।
महासभालाई स्थानीय समयअनुसार सोमबार अपराह्न सम्बोधन गर्ने कार्यक्रम छ । मन्त्री डा. खड्का नेतृत्वको प्रतिनिधिमण्डल मङ्गलबार स्वदेश फर्कने छ । रासस