भर्चुअलबाट अधिकरीको उपन्यास राज्याभिषेक विमोचन

100

काठमाडाैं । लेखक राजु अधिकरीको उपन्यास राज्याभिषेक विमोचन भएको छ । पुस्तकको विमोचन भर्चुअल माध्यमबाट गरिएको छ । लेखक राजु अधिकारीले चीन तथा कथालयकी कार्यकारी निर्देशक सुनिती अमात्यले नेपालबाट पुस्तकको विमोचन गरेका हुन् ।

विज्ञान विषयक कथालेखनमा रुचि राख्ने लेखक अधिकारी आफ्नो पितासँग प्रेरित भई साहित्य क्षेत्रमा कलम चलाउन सुरु गरेका हुन् । यस पुस्तकमा विज्ञानलाई जोडेर भविष्यमा हुनसक्ने सम्भाव्य घटनाहरूलाई काल्पनिक रूपमा प्रस्तुत गरेका छन् । लेखनको हिसावले अधिकारीको यो पहिलो उपन्यास नभए पनि प्रकाशनको हिसाबले यो उनको पहिलो प्रकाशित उपन्यास हो ।

यसअघि अधिकारीको ‘वी रिड’ प्रकाशनबाट लावण्यदेश कथा सङ्ग्रह प्रकाशित भइसकेको छ । राज्याभिषेक राजु अधिकारीको पशुपन्छी अधिकार र मानवतासँग सम्बन्धित पर्यावरणीय चेतनासम्पन्न कृति हो । यस कृतिले पृथ्वीलाई मानव र पशुपन्छीहरूको साझा वासस्थान हो भन्ने चेतनालाई औपन्यासिक कलामा अगाडि सारेको छ ।

मानिसले धर्तीका सबै श्रोत र साधनहरूमा आफ्नो एकल कब्जा मात्र जमाएको छैन, यहाँ बस्ने जनावरहरूमाथि पनि निर्मम अत्याचार गरिरहेको तथ्य यो पुस्तकले उजागर गरेको छ । यस धर्तीमा मानिसको मात्र होइन, यहाँ बस्ने सबै जनावरको उत्तिकै अधिकार छ, मानिसले जनावरहरूको पनि भावना बुझ्नुपर्छ, उनीहरूलाई पनि स्वतन्त्रतापूर्वक धर्तीमा बाँच्न दिनुपर्छ भन्ने तर्क प्रस्तुत गरेको छ यस पुस्तकले ।

मानवजातिलाई अमर बनाउन सक्ने औषधिको अनुसन्धान गरिरहेका गोप्य प्रयोगशालाबाट त्यहाँ परिक्षणमा राखिएका बाँदरहरू रहस्यमय रूपमा हराएपछि संसारभरि खैलाबैला मच्चियो । तर ती बाँदरहरू मानिस र अन्य जनावरहरूको सम्पर्कमा पुगेपछि तिनीहरूको शरीरमा प्रयोग गरिएका अनेक थरि औषधि र रसायनहरूले नसोचेको असर गर्नुका साथै संसारमा आएका परिवर्तनको विषयवस्तुमा यो उपन्यास आधारित छ ।

वी रिडले प्रकाशन गरेको यस उपन्यासमा कथावस्तु, स्थान र पात्र सबै काल्पनिक हुन् । २३२ पृष्ठको यो पुस्तकको मूल्य रू. ३७५ तोकिएको छ । यो पुस्तक बजरमा र अनलाइन मार्फत उपलब्ध छ । वी रिड प्रकाशनले विगत केही वर्षदेखि निरन्त रुपमा साहित्यिक कृतिहरु प्रकाशन गर्दै आइरहेको छ । वी रिडले लेखक राजु अधिकरीको दोस्रो कृति तथा पहिलो उपन्यास राज्याभिषेक प्रकाशित गरेको छ । वी रिडले हालसम्म ३० भन्दा धेरै कृतिहरु प्रकाशित गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here