काठमाडौं । क्यानडा पठाउने भन्दै पाकिस्तानबाट नेपाल बोलाएर बन्धक बनाएको आरोपमा दुई पाकिस्तानी नागरिक प्रहरीकाे फन्दामा परेका छन् ।
पाकिस्तानमै योजना बनाएर नेपाल आएर अपहरण गरी बन्धक बनाएको प्रहरीको दाबी छ। पूर्वयोजना अनुसार तीन साता अघि दुई पाकिस्तानी काठमाडौं आएको र हाल अपहरणमा परेका भनिएका पाकिस्तानीलाई क्यानडा पठाउने भन्दै प्रलोभन देखाई नेपालसम्म बोलाएको पाइएको छ।
क्यानडा जान भनेर गत सोमबार नेपाल ओर्लिएका फैजानलाई उनीहरुले ठमेलको एक होटलमा केही दिन राखेको र त्यसपछि ललितपुरस्थित सिभिल होम्समा घर भाडामा लिएर बन्धक बनाएर राखेको प्रहरीको दाबी छ।
बन्धक बनाएर राखेपछि पाकिस्तानस्थित घरमा फोन गरेर आफू क्यानडा पुगिसकेको र त्यसवापत २५ हजार डलर पठाउनु भन्न समेत उनीहरुले लगाएको प्रहरी दाबी छ। बन्धकमा परेका फैजान शौचालयको झ्यालबाट हामफालेर भागेपछि सो घटना बाहिरएको थियो। उनी भागेर ललितपुर प्रहरीमा गएर उजुरी गरेका थिए। त्यसपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।


















