काठमाडौं । बागमती प्रदेश सभाको बैठक आज आइतबार बस्दै छ । अपरान्ह ३ बजेका लागि बोलाइएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको कार्यसूची रहेको छ। भदौ दुईमा मुख्यमन्त्रीमा नियुक्त भएकी शाक्य नेकपा एमाले विभाजनपछि अल्पमतमा छिन्।
बागमती प्रदेश सभामा एक सय नौ सदस्य छन्। मुख्यमन्त्री शाक्यले विश्वासको मत जुटाउन ५५ जना सांसद आवश्यक पर्छ। हाल सत्तारूढ नेकपा एमालेसँग ४३ जना सांसदमात्र छन्। उनलाई १२ जना अन्य दलका सांसदले समर्थन गरे मात्रै विश्वास पाउने सम्भावना रहन्छ। आज विश्वासको मत लिने प्रस्ताव संसदमा दर्ता भए पनि छिनोफानो भने दशैंपछिमात्र हुने एमालेका एक सांसदले जनाए ।
सत्तारूढ गठबन्धनले यसअघि नै बागमतीमा मुख्यमन्त्री परिवर्तन गर्ने भनेका छन्। गठबन्धनले बागमतीको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति गरिसकेका छन्।
बागमतीमा नेपाली कांग्रेसका २२, नेकपा माओवादी केन्द्रका २३, नेकपा (एकीकृत समाजवादी) को १३ सांसद छन्। त्यसैगरी, विवेकशील साझा पार्टीबाट तीन, नेपाल मजदुर किसान पार्टीका २, राप्रपा २ र स्वतन्त्र एक सांसद पनि छन्। गठबन्धनले नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको छ।


















