–चन्द्रप्रकाश बानियाँ
सधैँ झैं यस वर्षको दर्शैं आयो, गयो । कसैको आशिर्वादले कुनै लछारपाटो लगाउन सक्ने होइन । आशिर्वाद लिनेदिने एउटा औपचारिकताको कुरा मात्रै हो । विगतमा झै राजा, राष्ट्रपति र प्रधानमन्त्रीको हातबाट टीका ग्रहण गरिदिएर कृतार्थ बनाइदिनुपर्ने झन्झटबाट चाटुकारहरुले यस वर्ष मुक्ति पाए । मानिसलाई आवश्यक पर्ने ठूलाबडाहरुको निगाह हो, सद्भाव हो, आशिर्वाद होइन । वास्तवमा दशैमा ठूलाबडाहरुको हातबाट टीका आशिर्वाद लिने चलन राणाकालको चाकरी प्रथाको परिमार्जित रुप हो । राणाको जमानामा जर्नेल, कर्णेल, कमाण्डर इन चिफ र मुख्तियारहरुका हजुरमा हरेक दिन चाकरीवाजहरुको लस्कर लाग्थ्यो रे । एक दिन चाकरीमा अनुपस्थित हुँदा मालिकहरुले बिर्सन्छन् कि, रिसाउँछन् कि भनेर तर्सनु पथ्र्यो रे ! हरेक वर्ष गरिने पजनीमा स्थान सुरक्षित हुन्छ कि भन्ने आशामा चाकरीवाजहरुले मालिकका ढोकामा दैनिक हाजिरी बजाउँथे रे । गएको वर्षको दशैंमा बहालवाला प्रमले चाकरीको सार्वजनिक आह्वान गरेका थिए । राजा, राष्ट्रपति र प्रधानमन्त्रीमध्ये कसको दरबारमा चाकरीवालहरुको लस्कर लामो भनेर तुलना÷चर्चा भएको पनि थियो । यो वर्ष त्यस्तो तमासा देखिएन ।
दशैं पर्व कसरी कहिले सुरु भयो होला, कसले सुरु ग¥यो होला भनेर अनुमान गर्न गाह्रो छ । भरपर्दो तथ्यप्रमाण फेला पर्दैन । कुनै वादशाह वा धर्माधिकारीले ठ्याक्कै कुन गतेमितिमा पर्वको सुरुवात ग¥यो भनेर इतिहासप्रमाणले भन्दैन । काठमाडौंको गाइजात्रा जत्तिको प्रमाणिक इतिहास दशैं पर्वको छैन । पर्व उत्सवहरु सुरु हुनुको कुनै महत्वपूर्ण कारण अवश्य हुनुपर्छ । विशिष्ट मानिएको कामविशेषको स्मरणस्मृति दिगो बनाउने उद्दश्यले पर्व उत्सवहरुको श्रीगणेश हुने हो । परम्परा बसालिने हो । अवश्य पनि दशैंको जन्मदाता कोही न कोही होला । जनताले खुसी मनाउने पर्व हो कि कुनै वादशाहको करतुतको सम्झनास्वरुप पर्वको सुरुवात भएको हो कुन्नी ? भारतीय उपमहाद्विपका राजपरम्पराहरुको इतिहासको कुरा गर्ने हो भने अशोकभन्दा उता उति धेरै पर जान सकिदैन । त्यसैले होला अशोकले नै दशै पर्व चलाएका हुन भनेर अनुमान गर्नेहरु पनि देखिन्छन् ।
दशैं पर्वको नेपाली परम्परा हेर्दा यसलाई अशोकसंग जोड्न सकिदैन । अशोक बुद्धमार्गी थिए । बुद्धमार्गी राजाले पशुबलि दिने दर्शैको परम्परा चलाए होलान् भनेर पत्याउन सकिदैन । बुद्ध धर्म वर्तमान नेपाली भूमिमा संक्रमित भए पनि अशोकले लुम्बिनीभन्दा माथितिरको नेपाल भ्रमण गरेको प्रमाण भेटिदैन । अशोककी छोरी नेपाल आएकी थिइन भनिन्छ । उनी आएकी हुन् भने पनि तत्कालीन नेपाल अर्थात काठमाडौं उपत्यकामा आएकी हुन् । दशैंको आज प्रचलित रुप मूलतः प्राचीन मगरात क्षेत्रको परम्पराको निरन्तरता हो भन्न सकिन्छ । मगरात क्षेत्रमा चौबीसी राज्यहरुको उदय विशाल खस सम्राज्यको पतनपछि भएको हो । चौबीसी राजाहरु भारतबाट उक्लेका आर्यहरु थिए भन्ने कुरा हल्लाको विषय मात्र हो । खस साम्राज्य कमजोर हुदै गएपछि स्थानीय सामन्तहरुले भुरेटाकुरे स्वतन्त्र राज्यहरु गठन गरेका हुन् । लिच्छविकालमा समेत मंग्वर विषय भनेर परिचित त्रिशुली पश्चिमको भूभाग मगरहरुको आदि बसोबास हो भन्ने कुरा आज पर्यन्त नदीनाला, पहाडपर्वत र गाउँवस्तीहरुको नामहरु मगर भाषामा रहेको देखिनाले पुष्टि हुन्छ ।
खस साम्राज्यले मगरात क्षेत्र कब्जा गरेको भएपनि सिंजाबाट प्रत्यक्ष शासन चल्दैनथ्यो । समाजका प्रभावशाली स्थानीय करद सामन्तहरुमार्फत कर असुल गर्दथ्यो । जब खस साम्राज्यको लगाम खुकुलो हुँदै गयो साम्राज्यले खटाएका महामण्डलेश्वरहरुको हातबाट राज्यको बागडोर खृुस्किदै गयो । एकपछि अर्को गर्दै तिनै भुरे सामन्तहरुले विद्रोह गर्न थाले । आफ्नो सामथ्र्यअनुसार ससानो इलाका कब्जा गरेर स्वतन्त्र भएको घोषणा गरेका हुन् । नवगठित राज्यहरुमा अन्त कतैबाट ठकुरीपुत्र खोजेर राजा स्थापना गरियो भन्ने कुरा झुटो कथा हो । ती भुरेटाकुरे राजाहरुले आपसमा सल्लाह गरेर दशैं पर्व चलाए होलान् भन्न सकिन्न । त्यसैले दर्शैंको इतिहास बाइसी चौबीसी राज्यरजौटाहरुभन्दा अवश्य जेठो हुनुपर्छ ।
मगरात क्षेत्रबाट सुरु भएकै हो भने पनि पञ्चायतकालसम्म आइपुग्दा दशै नेपाली पर्व बनिसकेको थियो । कुनै न कुनै रुपमा नेपालभर दशै मनाउन थालिएको थियो । पञ्चायतको अवसानसंगै दर्शै पर्वले सर्वस्वीकार्यता गुमाउँदै जान थाल्यो । रेडियो टिभीहरुले “हिन्दूहरुको महान चाड” भन्न थाले । कुनै जमानामा सबै नेपालीहरुको साझा चाडको मान्यता पाएको दशै अब हिन्दूहरुको आगनमा खुम्चिन गएको छ । हिन्दूको चाड भनेपछि अहिन्दूहरुले किन मनाउने भन्ने स्वभाविक प्रश्न उठ्ने नै भो । भारतमा हिन्दू मुस्लिम समुदायबीचको धार्मिक हिंसा विश्वभर वदनाम छ । तर हिन्दूस्तानका कुना कन्दराका गाउँघरहरुमा मुस्लिमहरुले दशै मनाउँछन्, दुर्गापूजामा सामेल हुन्छन् । हिन्दूहरुले इद मनाउँछन् । अर्थात चाड पर्वहरुलाई धर्मबाट अलिकता माथि उठाउने हो भने सबै जाति धर्मका साझा बन्न सक्दा रहेछन् । जानेर हो वा नजानेर नेपालका मिडियाहरु दशैलाई हिन्दूहरुको पेवा बनाउने कसरतमा टुपी कसेर लागेको देखिन्छन् ।
संविधानले नेपाललाई धर्मनिरपेक्ष बनाएको मात्र होइन, बहु धार्मिक मुलुको हो भनेरसमेत किटान गरेको छ । त्यसको अर्थ नेपाल हिन्दूहरुको मात्र होइन, सबै धर्म संस्कृतिको फुलबारी हो भनेको हो । दशैलाई हिन्दूको पर्व हो भन्नुको अर्थ यसलाई धार्मिक पर्व भनेर पुष्टि गर्नु हो । त्यसो हो भने अन्य धर्मालम्बीहरुले दशै मनाउनुपर्छ भन्ने हुदैन । अघिल्लो जनगणनाले हिन्दू भनेर मानेका कैयों जाति समुदायले यतिखेर हिन्दू होइनौ. भन्न थालेका छन् । पछिल्लो समयमा त्यो कित्तामा खसजातिलेसमेत आफूलाई समावेश गर्न जम्जमाएको छ । त्यस्तो वाध्यता उपस्थित भएको छ । हिजो आफूलाई हिन्दू भनाउने किराँत, बुद्ध, प्रकृतिपूजक समुदायले दशै मनाउँथे । अहिन्दूहरुले पनि दशैंलाई साझा पर्व मान्थे । समय अब त्यस्तो रहने छाँटकाँट देखिदैन । हिन्दू र अहिन्दूबीच कित्ताकाट हुने सम्भावना बढ्दै छ । दशैैं हिन्दूको चाड हो भने अहिन्दू समुदायले किन मनाउने, मनाउनु आवश्यक छै भन्ने आवाज समाजमा बाक्लै उठ्न थालेको छ । दशैं बहिष्कारको अभियान चल्न थालेको छ । खासगरेर मङ्गोल अर्गनाइजेसन सम्बद्ध मानिसहरुले कालो टीका लगाएर दशैंको विरोध गर्न थालेका छन् ।
हिन्दूहरुकै मुर्खताले दशैं कस्को भन्ने प्रश्न उठाएको हो । त्यही आगोमा नेपालका मिडियाहरुले घिउ खन्याउने नादानी गरिरहेका छन् । के साँचै दशैं भनेको हिन्दू पर्व नै हो त भनेर गहिरोगरी खोज गर्नुपर्ने अवस्था उपस्थित भएको छ । त्यसैले हिन्दू धर्मको उद्गम मानिएको हाम्रो दक्षिणवर्ती आर्यावर्त भनिने भूमितिरको दर्शैं परम्परातिर आँखा लगाउँ । मूलतः आर्य नस्लको दावी गर्ने हिन्दूहरुको बसोबास विन्द्याचल पर्वतको उत्तरमा छ । दक्षिण भारतीय ब्राह्मण परिवारका आदि शंकराचार्य, रामानुजहरुलाई हिन्दूधर्ममा उन्नयनकर्ता भनेर मानिन्छ । ती अनार्यवंशी थिए । धेरै उता नजाउँ । आर्यावर्त भनेर गङ्गा जमुनाबीचको भूमिलाई मानिन्छ । गङ्गाको मैदानलाई मानिन्छ । हिन्दूको मूलभूमी त्यही हो । त्यस क्षेत्रमा नेपाली समाजमा जत्तिकै महत्व दशंै पर्वले पाएको देखिदैन । दशैं मनाउने नेपाली तरिका उनीहरुको भन्दा भिन्न छ । आर्यावर्तको दशहराको र नेपाली दशैंको समय एउटै भए पनि पर्व ठ्याम्मै एउटै हो भन्न गाह्रो छ । नेपालीहरुको दशैं दशहराको अर्को संस्करण होइन । नेपाली दशहरा आश्विनमा होइन, जेष्ठ शुक्लपक्षको दशमी तिथिमा पर्दछ ।
आगन्तुक नेपाली आर्यहरुको बसोबास पहाडमा निकै पातलो छ । खास आर्यहरु मधेसमै छन् । उनीहरुको दशै पनि भारतीयहरुको जस्तै छ । त्यसैले नेपालको जस्तो दशै नेपालमै मात्र छ भन्न सकिन्छ । दशैलाई नेपाली पर्व मान्नुको कारण पनि त्यही हुनुपर्छ । दशैं मनाउने परमपरामा नेपालीपन छ भने त्यो नेपालीपन कुन समुदायले दिएको हो त भन्ने प्रश्न उठ्दो रहेछ ।
नेपालको सन्दर्भमा हिन्दू धर्मसंस्कृतिले मिथिलाबाट काठमाडौ उपत्यकामा सबभन्दा पहिले प्रवेश पाएको हो । काठमाडौैं नेवा बस्ती हो । नेवा समुदाय दशैंको स्वामित्व लिन अन्कानाएजस्तो देखिन्छ । उनीहरुको मोहिनी पर्व दशैंको पञ्चमीमा पर्न जानु एउटा संयोग मात्रै हो भनिन्छ । दशैं पर्व लिम्बु, राई, तामाङ, नेवार, मगर, गुरुङ, थकाली, सेर्पा, भोटेहरु कसैको होइन र भारतीय आर्यहरुको जस्तोे पनि छैन भने बाँकी बच्छ एउटै जाति –खस ! दशैमा जमरा र दही चामलको टीका लगाउने चलन भएकोले यो कृषि पर्व हो कि भन्न सकिन्छ । चन्दननाथले कास्मिरबाट धानको विउ ल्याएर सिंजा उपत्यकामा खेती गर्न थालेपछि दशै पर्वको परम्परा बसालिएको हो कि भनेर अनुमान गर्न सकिन्छ । तर कर्णाली क्षेत्रमा दशै मनाउने परम्परा थिएन । गोर्खाली विजयपछि मात्र दशैं मान्न मनाउन थालिएको हो भन्ने स्थानीय भनाईले त्यो अनुमानलाई खारेज गरिदिन्छ । त्यसैले दशैं पर्व खस समुदायको हो भन्न पनि गाह्रो पर्छ ।
काठमाडौंमा दशै पृथ्वीनारायणसंगै उक्लेको रहेछ । पूर्वतिर पनि गोर्खाली विजयसंगै गएको रहेछ । दशैको पश्चिम यात्रा पनि गोर्खाली विजय अभियानसंगै गएको हो भने दशैं कस्को हो त ? उत्तरमा एउटै शब्द आउँछ– मगरात ! पृथ्वीनारायण शाह मगरातका राजा थिए । शाह र मगरको कुलपूजा एकै ठाउँमा हुन्थ्यो भनिन्छ । पूर्वतिरका राई, लिम्बु, नेवार, तामाङहरुले दशै ्आफ्नो होइन भन्छन् । पश्चिमका खस समाजमा पनि दशैं मनाउने पुरानो परम्परा थिएन भने दशैं कस्को हो त ? फेरि पनि घुमिफिरी मगरातको भन्ने उत्तर आउँछ । मगर समुदायको भनेर अनुमान गर्नुपर्ने हुन्छ । त्यसमाथि गोर्खाली शाहहरु मगरमूलका हुन् भन्ने भनाईले थप त्यतै संकेत गर्छ । एउटा विडम्बना कस्तो देखिन्छ भने यतिखेर दशैलाई आफ्नो भनेर मान्ने समुदायमा बाहुनबाहेक अर्को एउटा समुदाय खस बाँकी रहन्छ । खासगरेर मगरात क्षेत्रमा बसोबास गर्ने खसहरुले दशैंलाई आफ्नै मान्छन् । तैपनि के भन्न सकिन्छ भने खसहरुको मौलिक पर्व दशंै थिएन । खस साम्राज्यसंगै मगराततिर संक्रमित भएका खसहरुले आफ्ना रीतिरिवाज, परम्परा, संस्कार संस्कृति बिर्सदैै गए र जहाँ जुन समाजमा पुगे त्यहीको रीतिस्थितिमा रमाए । दशैं खसहरुको पर्व हुनुको कारण त्यही थियो भनेर सहज अनुमान लगाएन सकिन्छ ।
जानेर होस वा नजानेर दशैंलाई आफ्नो पर्व मानेर च्याप्ने खस र बाहुन समुदाय नै हो । आर्य परम्पराअनुसारको दशै छैन र पनि बाहुनले आफ्नो मान्छन् । खसहरुको पुर्खाले दशै मान्दैनथे र पनि खसहरुले आफ्नो मान्छन्. । खसहरु नयाँ हिन्दू हुन् भन्ने कुरा इतिहासप्रमाणित तथ्य हो । जसरी आर्य धर्म ग्रहण गरे त्यसैगरी एकमुष्ट आर्य संस्कृति र परम्पराहरु पनि खसहरुले अपनाए । मूलतः खसहरु अनार्य र अहिन्दू हुन्, उनीहरुको जाति धर्म अलग हो भन्नलाई हिन्दू शास्त्रका कथन पर्याप्त छन् । पुराण, स्मृति, रामायण महाभारतहरुले खसलाई कुन रुपमा चिन्छन् भन्ने कुरा लुकाउनुपर्ने छैन । तिनले स्पष्टसंग अनार्य, व्रात्य, असभ्य, जङ्गली, शुद्र, म्लेच्छ भनेकै छन् । त्यसको अर्थ जसले जे जे दावी गरे पनि दशैैं पर्वसँग खस जातिको इतिहास जोडिदैन । त्यसको अर्थ दशैं खसहरुको आदिपर्व होइन । सापट लिइएको हो । पैँचो गरिएको हो ।
यति धेरै माटोसंग जोडिइसकेको दशैं पर्व नेपालीहरुको होइन भन्न पनि मिल्दैन । सम्भवतः दशैसंग जोडिएका पौराणिक कथाका कारणले नेपालीहरुले दशैंलाई आफ्नो भन्न सक्ने अवस्था नरहेको त होइन ? सम्भवना त्यस्तै देखिन्छ । महिषमर्दिनी देवी र महिषासुरको कथासंग नेपाली माटोको साइनो जोडिदैन । त्यो उडिसा र बङ्गालको कथा हो । बङ्गालमा देवी पुजिन्छिन्, उडिसामा महिषासुर पुजिन्छन् । उताको कथा यताको दशैंसंग जोड्ने नादानी कसले ग¥यो ? उत्तर सबैलाई थाह छ । लङ्काको रावण र अयोध्याका रामसंग पनि नेपाल मात्र होइन, हिन्दू धर्म पनि जोडिदैन । राम र रावणको कथा मिथक मात्रै हो । त्यसको ऐतिहासिकता पुष्टि हुन सकेको छैन । काल्पनिक कथा हो र त्यो कथा यो माटोसंग जोडिदैन । सीतालाई नेपालकी छोरी मान्ने कुरा पनि काल्पनिक हो । राम रावणको कथा काल्पनिक भएपछि सीतालाई वास्तविक मान्न मिलेन । वास्तविकता नै हो भने पनि जुनबेलाको कथा हो त्यतिबेला मिथिला नेपाल थिएन ।
दशैं परम्परा पुरानो हो कि दशैंसंग जोडिएको मिथक पुरानो हो भनेर छुट्याउन गाह्रो छ । नेपालीहरुले दशै हाम्रो होइन भनेर टकटकिनुपर्ने कारण भने तिनै पौराणिक कथाहरु नै हुन् । दशैंसंग जोडिएका पुराण कथाहरुसंग नेपाल भूमिको साइनो सम्बन्ध नजोडिएपछि दशैं पर्वप्रतिको अपनत्वभावमा खिया लाग्नु स्वभाविक भयो । दशैंप्रति नेपालीहरुको मोह भङ्ग हुदै जाने कारण त्यही हो । जुन कारणले दशैं पर्वको जन्म भयो भनेर पौराणिक कथाहरु अघि सारिन्छ ती फर्जी लाग्छन् । कमसेकम नेपाली दशैैंसंग तिनको साइनो सम्बन्ध छैन । त्यसको अर्थ दशैं उताबाट यता आएको होइन, यतैको दशैं परम्परामा उताको कथा दक्ष प्रजापतिको धडमो बोकोको टाउको झैैं जोडिएको मात्र हो कि भन्ने अनुमान गर्न सकिन्छ । तर इतिहास खोतल्दै जाँदा दशैंको स्थानीय जातिसमुदायहरुसंग साइनो जोड्न पनि सकिदैन ।
दशैंको स्वास्थ्य तम्दुरुस्त रहोस, यसले व्यापक सर्वस्वीकार्यता प्राप्त गरोस् भन्ने हो भने यसलाई धर्मबाट अलग गर्नुपर्छ । धार्मिक पर्व होइन, सामाजिक पर्वको रुपमा मनाउनुपर्छ । दशैं कोटमा मनाइन्थ्यो । त्यहाँ मौलो र हतियार पुजिन्थ्यो । देवीपूजाको परम्परा निकै ढिलो स्थापित गरिएको हो । दशैैंसंग देवीलाई पछि मात्रै जोडिएको हो । दशैंलाई देवीसँग जोड्ने लोभ नछोड्ने हो भने दशैैंले सान्दर्भिकता गुमाउँदै जानेछ । त्यसैले दशैंलाई देवीबाट अलग गरौं, धर्मबाट मुक्त गरौं । धर्मबाट मुक्त दशैं सबैको साझा पर्वको रुपमा पुनः स्थापित हुनेछ । दशैंको नवरथाको परम्परा हटाउँ । एक दिन मात्र दशैं मनाउने गरौं । त्यसले राज्यलाई पनि हिन्दू धङधङी छोड्न नसकेको आरोपबाट मुक्त गर्नेछ । एकैपटक धर्मको नाममा लामो विदा दिने परम्परालाई निरन्तरता दिनुपर्ने छैन । दशैं महङ्गो भयो भन्ने जनगुनासो पनि मेटिनेछ । जनधारणा साप्ताहिकबाट
















