दोहा । सन् २०२२ मा आयोजना हुने विश्वकप फुटबल प्रतियोगिताका लागि कतारले छैटौं रंगशाला निर्माण गरेको छ। बढी मात्रामा नेपाली कामदार खटिएको अल थुमामा रंगशालाको उद्घाटन शुक्रबार राति गरिएको हो।
उन्नचालिसौं ‘हिज हाइनेस दि अमिर कप’ अन्तर्गत शुक्रबार राति अल साद र अल रायन क्लबबीच भएको फाइनल खेलका लागि यो रंगशालाको उद्घाटन गरिएको हो।अल सादले पेनाल्टीमा अल रायनलाई पराजित गर्दै उपाधि जितेको छ।
रंगशाला निर्माणका लागि कतारले गठन गरेको सर्वोच्च कमिटीका महासचिव हसन अल थावाडीले विश्वकपका लागि छैटौं रंगशाला तयार भएर उद्घाटन भएकोमा गर्व महसुस भएको जनाएका छन्। ‘हामी निकै गौरवान्वित भएका छौं, आगामी वर्ष आयोजना हुने विश्व कपभन्दा पहिले छैटौं रंगशाला पनि तयार भएको छ,’ उनले भने।
अल थुमामा कतारमा सबैका लागि विशेष भेन्यू हो। अल थुमामा रंगशालाको डिजाइन युनिक मानिन्छ। यो रंगशालाको डिजाइनर कतारी आर्किटेक इब्राहिम अल जेदा हुन्। यही रंगशालामा फिफा ‘अरब कप’को पनि खेल हुने बताइएको छ।


















